नेपालका कम्युनिस्ट नेताको भेनेजुएला कनेक्सन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालका कम्युनिस्ट नेताको भेनेजुएला कनेक्सन

एजेन्सी । विश्वभरका कम्युनिस्टहरूबीच भाइचारा सम्बन्ध हुन्छ। त्यही भएर पनि नेपालका कम्युनिस्ट नेता र भेनेजुएली कम्युनिस्ट पार्टीबीच सम्बन्ध स्थापित हुनु स्वभाविक हो । सन् १९९० को दशकदेखि नै नेपालका कम्युनिस्ट नेताहरूले भेनेजुएलासँग सम्बन्ध कायम राख्न सुरु गरेका हुन्। सन् १९९९ मा ह्युगो चावेज भेनेजुएलाको राष्ट्रपति भएपछि उनले अन्तर्राष्ट्रिय समाजवादी पार्टीहरूसँग सम्बन्ध विस्तार गरेका थिए। त्यही क्रममा नेपालका कम्युनिस्टहरूसँग सम्बन्ध स्थापित भएको पाइन्छ। 

माओवादीको माउपार्टी नेकपा (मशाल)ले सुरुमा भेनेजुएलाको सत्तारुढ दलसँग सम्बन्ध विस्तार गरेको देखिन्छ। यसरी हेर्दा माओवादी, एमालेजस्ता नेपालका ठूला कम्युनिस्ट पार्टी मात्र होइन, मशालजस्ता साना पार्टीहरूसँग पनि भेनेजुएलाको सत्तारुढ पार्टीले सम्बन्ध बढाएको थियो। यसरी पुराना कम्युनिस्ट नेताहरुदेखि पछिल्लो चरणमा बलराम बाँस्कोटासम्मको भेनेजुएला कनेक्सन रहेको देखिन्छ। चावेजको पार्टीे ‘फिफ्थ रिपब्लिक मुभमेन्ट’ समाजवादी विचारधाराबाट निर्देशित रहेकाले उक्त पार्टीको नेपालका कम्यनिस्टहरूसँग विशेष सम्बन्ध रहेको थियो। त्यही भएर पनि चावेजले विश्वभरका कम्युनिस्ट पार्टीहरूसँग सुमधुर सम्बन्ध स्थापित गरेका थिए।

सन् २०१३ मा क्यान्सरले चावेजको मृत्यु भएपछि त्यहाँ अनिश्चिय देखियो। चावेज समाजवादी विचारधाराका पक्षपाती भए पनि उनी कट्टर कम्युनिस्ट थिएनन्।  भूराजनीतिले गर्दा चावेज अमेरिकीविरोधी भए पनि भेजेजुएली जनतामाझ लोकप्रिय थिए। उनलाई भनेजुएलामा जनताप्रति समर्पित राष्ट्रवादी नेताका रूपमा स्मरण गरिन्छ। उनको पालामा भेनेजुएलाले आर्थिक क्षेत्रमा ठूलो फड्को मारेको थियो।

निकोलोस मादुरो चावेजको उत्तराधिकारीका रूपमा सन् २०१३ मा भेनेजुएलाको राष्ट्रपति भए। उनी युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएलाको तर्फबाट उम्मेदवार भएर बहुमत प्राप्त गरी राष्ट्रपति चुनिएका थिए। त्यस बेला सपथ ग्रहण समारोहमा पनि नेपालका कम्युनिस्टहरूलाई पनि आमन्त्रण गरिएको थियो।

सुरुमा बस ड्राइभर रहेका मादुरो ट्रेड युनियनको नेता बन्दै त्यहाँको राजनीतिमा स्थापित भएका थिए। मादुरोलाई चावेजले नै राजनीतिमा अगाडि बढाएका थिए। राजनीतिमा सुझबुझ नभएका मादुरो सत्ता आएपछि अमेरिकालगायत पश्चिमा मुलुकको नाकाबन्दीले त्यहाँको आर्थिक अवस्था चौपट्ट भएको छ। त्यहाँका सामान्य नागरिक भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएको छ।

चावेजको अवसानपछि मादुरोसँग पनि नेपालका कम्युनिस्ट नेताहरूको हिमचिम उस्तै छ। कोभिड–१९ महामारी सुरु हुनुभन्दा पहिले नेपालका कम्युनिस्ट नेताहरूको भेनेजुएला भ्रमण पनि बाक्लै हुन थालेको थियो। कोभिड १९ को महामारी सुरु हुनुभन्दा केही महिनाअघि मात्र तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका नेता बलराम बाँस्कोटा राजधानी काराकास पुगेका थिए। सोसलिस्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा समेत बाँस्कोटा त्यहाँ गएका थिए।

सन् २०१८ डिसेम्बरमा भएको चुनावमा मादुरो राष्ट्रपति चुनिएपछि विपक्षी दलका नेता जुआन गुइदोले धाँधलीको आरोप लगाउँदै आन्दोलन सुरु गरेका थिए। हजारौं जनताले मादुरोको पक्षमा सडकमा प्रदर्शन गरेका थिए। अमेरिकालगायत पश्चिमा मुलुकको समर्थनमा गुइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरे पनि उनले मान्यता पाएनन् अर्थात् उनी राष्ट्रपति भवन छिर्न सकेनन्।

 सेनाको समर्थनमा मादुरो दोस्रो पटक कार्यकारी राष्ट्रपति भए। अहिले त्यहाँ दुईजना राष्ट्रपति भए पनि मादुरोले नै प्रतिनिधित्व गरिरहेका छन्, जसलाई लोकतन्त्र अंगीकार गर्ने अन्तर्राष्ट्रिय जगतले मान्यता दिएकाे छैन।

मादुरोले सन् २०१९ को जनवरीमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको सपथ लिए। सपथग्रहण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट नेता बलराम बाँस्कोटाले सहभागिता जनाएका थिए। अहिले पनि बाँस्कोटाको भेनेजुएलाका सत्तारुढ दलका नेताहरूसँग राम्रो सम्बन्ध रहेको पाइन्छ।

मादुरोले सपथ लिए पनि सडकमा प्रदर्शन रोकिएको थिएन। अमेरिकाले नाकाबन्दीलाई जारी राख्यो। धाँधली गरेर निर्वाचित भएका मादुरोलाई समर्थन गर्न नसकिने भन्दै विपक्षी दलको आन्दोलनलाई अमेरिकालगायत पश्चिमी मुलुकले सघाए। त्यस्तो आन्दोलन जारी रहेका बेलामा नेता बाँस्कोटा भेनेजुएलामै थिए।

 बाँस्कोटा भेनेजुएलाबाट नेपाल फर्किएपछि पनि त्यहाँ आन्दोलन चर्किरहेको थियो। अमेरिकालगायत पश्चिमी मुलुकले नाकाबन्दी जारी राख्दै मादुरोलाई सत्ताच्यूत गर्नुपर्ने धारणा राख्दै आएका थिए।

तत्कालीन नेकपामा प्रचण्डसँग निकट रहेका नेता बाँस्कोटाले भेनेजुएलाको अवस्थाबारे बिफ्रिङ गरे। त्यसपछि प्रचण्डले भेनेजुएलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै वक्तव्य नै जारी गरे। पछि उक्त वक्तव्यको चर्को आलोचना भएपछि तत्कालीन नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट पार्नुपरेको थियो।

भेनेजुएला तेल र सुनका लागि विश्वभर चर्चित छ। तर, भेनेजुएलाको नेपालसँगको सम्बन्ध व्यापारिक ढंगले कहिल्यै अगाडि बढेको छैन। कम्युनिस्ट विचारधारामा आस्थावान दुई मुलुकका पार्टीबीचको सम्बन्ध चाहिँ प्रगाढ रहेको देखिन्छ। 

नेपाल  र भेनेजुएलाबीच सन् १९८७ मा दौत्य सम्बन्ध कायम भए पनि औपचारिक समारोहमा बाहेक जनस्तरमा यो सम्बन्ध विस्तार भएको देखिँदैन। नेपाल र भेनेजुएलाबीचको व्यापारिक सम्बन्ध व्यवस्थित रूपमा अगाडि बढ्न सकेको छैन।

माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष रञ्जित तामाङलगायत युवाहरूको टोली सन् २०१९ मार्चमा अन्तर्राष्ट्रिय युवा सम्मेलनमा भाग लिन भेनेजुएलाको काराकास गएको थियो। त्यसपछि त्यहाँको युवा–विद्यार्थी संगठनसँग पनि राम्रो सम्बन्ध स्थापित भएको छ। 

त्यसलगत्तै, सन् २०१९ जुलाईमा राष्ट्रपति मादुरोको छोरा अर्नेस्टो मादुरो गुएरा नेपाल भ्रमणमा आएका थिए। त्यस बेला तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएका थिए। नेपाल भ्रमणमा रहेका बेला मादुरोका छोराले पूर्वप्रधानमन्त्री तथा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका थिए। त्यसैगरी, उनले वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई पनि भेटेका थिए। यो भ्रमणको चाँजोपाजो नेता बाँस्कोटाले मिलाएका थिए।  

कोभिड–१९ को महामारीपछि भने नेपालका कम्युनिस्ट नेताहरू र भेनेजुएलाका नेताहरूबीच प्रत्यक्ष भेटघाट नभएको बुझिएको छ। सर्वोच्च अदालतको २८ फागुन, २०७७ को फैसलापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन गई पुरानै पार्टीहरू माओवादी केन्द्र र एमाले ब्युँतिएका छन्।

खासगरी, मादुरोका छोरा अनेस्ट्रोको नेपाल भ्रमणपछि माओवादी नेताहरूको सम्बन्ध उनीसँग बढी निकट रहेको देखिन्छ। नेता बाँस्कोटाको भेनेजुएला कनेक्सन अझै पनि मजबुत रहेको छ, उनै बाँस्कोटाले नेपालका नेताहरुको भेनेजुएला भ्रमण र भेनेजुएलाका नेताहरूको नेपाल भ्रमणको चाँजोपाजो मिलाउँदै आएका छन्। अहिले बाँस्कोटा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता हुन्। 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);