रुपन्देहीमा ६ महिनामा ६ करोडको तस्करीको सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

रुपन्देहीमा ६ महिनामा ६ करोडको तस्करीको सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले ६ महिनामा करिब ६ करोड बराबरको तस्करीको सामान बरामद गरेको छ । बैशाखदेखि ४ कात्तिकसम्ममा पाँच करोड ९६ लाख आठ हजार चार सय ३७ रुपैयाँ बराबरको तस्करीको सामान प्रहरीले बरामद गरेको हो । बरामद सबै सामान भन्सार चलान गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार असोज महिनामा सबैभन्दा बढी तस्करीको सामान बरामद भएको छ । यो महिना एक करोड ४४ लाख दुई हजार एक सय १० रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।

यस्तै साउनमा एक करोड २४ लाख ९६ हजार आठ सय १० रुपैयाँ बराबरको सामान बरामद भएको छ । प्रहरीका अनुसार बैशाखमा एक करोड चार लाख तीन हजार चार सय १२, जेठमा १२ लाख ७३ हजार आठ सय ८०, असारमा एक करोड पाँच लाख २९ हजार ६ सय ९६, भदौमा ८५ लाख चार हजार दुई सय ८९ र ४ कात्तिकसम्म १९ लाख ९८ हजार एक सय ६० रुपैयाँ बराबरको तस्करीको सामान बरामद भएको छ ।

चाडपर्वको समयमा बढी तस्करी हुने गरेको र यसको नियन्त्रणका लागि प्रहरी गस्ती बढाएको प्रहरी सहायक प्रवक्ता चन्दले बताए । रुपन्देहीका विभिन्न सीमानाकाबाट तस्करी गरी सामान ल्याउने क्रम नरोकिँदा राजश्वमा समेत असर परेको छ । जिल्लाको बेलहिया नाका नेपाल–भारतबीचको मुख्य नाका भएकाले यस नाकाबाट तस्करीका घटना बारम्बार हुने गरेका छन् । कुखुराका चल्ला, लागूऔषध, खाद्यान्न, कपडालगायतका सामग्रीको तस्करी बढी मात्रामा हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);