भेटाएको एक लाख प्रहरीमार्फत सम्बन्धित धनीलाई हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भेटाएको एक लाख प्रहरीमार्फत सम्बन्धित धनीलाई हस्तान्तरण

जाजरकोट । जिल्लाका दुई युवाले बाटोमा पाएको एक लाख रुपैयाँ प्रहरीमार्फत सम्बन्धित ब्यक्तिलाई बुझाएका छन् ।

जिल्लाको कुशे गाउँपालिका- २ स्थायी घर भइ प्रधानमन्त्री आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई जाजरकोटमा जेटिए पदमा कार्यरत सुवास सिंह र भेरी नगरपालिका ४ घर भई सोही कार्यालयमा जेटिए पदमा कार्यरत २३ बर्षीय धर्म चन्दले भेरी नगरपालिका ४ गैरीखालीस्थित सडकमा आज विहान एक लाख रुपैयाँ फेला पारेका थिए । ‘घुम्न निस्केका थियौं । बीच सडकमा प्लाष्टिकको झोलामा बेरेको सानो पोेको भेट्यौ । के रहेछ भनेर खोलेर हेर्दा एक लाखको गड्डी रहेछ । हामीले तत्काल प्रहरीलाई बुझाईदियौ,’ चन्दले भने ।

रकम हराएको करिब १८ घण्टापछि सम्पर्कमा आएका कुशे गाँउपालिका ९ मेलविसाउना निवासी ४५ वर्षीय धर्मे सार्कीलाई उक्त रकम हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले बताए । उनकाअनुसार रकम हराउने धर्मे कमाइका लागि केही समयअघि भारत गएका थिए । भारतबाट दशैँ मनाउन घर फर्केने क्रममा नेपालगञ्जमा भारतीय रुपैयाँ सटाएर शनिबार मात्र जाजरकोट सदरमुका आइपुगेका थिए । मदिरा सेवन गरेका कारण उनले रकम हराएका थिए ।

मदिराको नशाले छोडेपछि शनिवार विहानमात्र रकम हराएको थाह पाएका उनले सोधीखोजी गर्दा प्रहरीको सम्पर्कमा आएको र उनको बयानका आधारमा रकम उनकै भएको यकिन गरेर रकम फेला पार्ने ब्यक्तिको रोहवरमा हराएको एक लाख रुपैयाँ हस्तान्तरण गरिएको प्रहरी प्रमुख थापाले बताए ।

रकम पाएपछि धर्मेले भने, ‘दिनरात अर्काको देशमा पसिना बगाएर कमाएको रकम हराए पनि फेला पर्‍यो । सत्यको धन रहेछ । कोही नहुनेको दैव हुन्छ भनेको साँच्चै रहेछ । अब यस्तो गल्ती कहिल्यै गर्दिन ।’ रकम फेला पारेर इमान्दारपूर्वक प्रहरीलाई बुझाउने दुवै युवालाई प्रहरी प्रमुख थापाले धन्यवाद ज्ञापन गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);