काठमाडौं । चीनसँग सीमा जोडिएको हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
जयनारायण आचार्यको नेतृत्वमा सीमा क्षेत्र सम्बन्धी अध्ययन गर्न गठित समितिले बुझाएको प्रतिवेदनको सुझावको आधारमा गृहले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हो । समितिले दिएको सुझावको आधारमा परराष्ट्र मन्त्रालयलाई सोमबार पत्राचार गरिएको हो ।
गृहले पठाएको पत्रको साथमा समितिले तयार पारेको प्रतिवेदन पनि नत्थी गरिएको छ । सीमा क्षेत्रमा उब्जेका विषयमा द्विपक्षीय सहकार्य गरेर समाधान गर्न समितिले सुझाव दिएको छ । समितिले असोज १० गते गृहमन्त्री बालकृष्ण खाँणलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।
उक्त समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य थिए । उक्त टोली भदौ २५ मा स्थलगत अध्ययनको लागि हुम्ला गएको थियो ।