यस्तो गाउँ, जहाँ घाँस काट्न पनि साइत हेरिन्छ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

यस्तो गाउँ, जहाँ घाँस काट्न पनि साइत हेरिन्छ

मनाङ । फू गाउँकी पाल्मा साङ्गे घाँस काट्न बिहीबार क्याङ झरेकी छिन् । यसपाली लामाले पात्रो हेरेर बिहीबारदेखि घाँस काट्ने साइत निकालेका छन् । गोठमा भएका पशुवस्तुलाई हिउँदको जोहो गर्न उनी बेशी झरेकी हुन् । फू बासी बढी हिउँ पर्न थालेपछि क्याङ झर्छन् । क्याङ फूभन्दा न्यानो छ ।

‘घाँस काट्ने ठाउँ नै छैन । अर्काको खेतमा काट्न पाइँदैन । अहिले त समय नै नराम्रो परेको छ । वनमा घाँस पलाएन,’ घाँस काट्दै गर्दा भेटिएकी साङ्गे भन्छिन्, ‘हिउँ नपरे त ठिकै हुन्थ्यो । हिउँ पर्‍यो भने वस्तुहरू भोकै मर्छन् ।’

दुई दिन काटेको घाँसले हिउँदभरीलाई पुर्‍याउनुपर्छ । हुन त बेशीमा चरन क्षेत्र छुट्याइएको छ । बर्खाका बेला बेशीमा वस्तु झार्न प्रतिवन्ध छ भने हिउँद लागेपछि गाउँमा उकाल्न पाइँदैन । मनाङको विकट र उत्तरी गाउँहरू नार र फूमा घाँस र बालीनाली काट्न साइत हेर्नुपर्छ । 

लामाले पानी नपर्ने र मौसम उघ्रिएको समयमा पात्रोबाट उपयुक्त मिति निकाल्छन् । लामाले तोकेकै मितिभित्र घाँस र बाली भित्र्यासक्नुपर्छ । घाँस काट्न धेरै खेत हुनेले चार दिन समय पाउँछन् भने कम हुनेले दुई दिनमै सिध्याउनुपर्छ ।

तल्लो क्षेत्रमा जस्तो ना र फू गाउँमा मन लागेका बेला घाँस काट्न र बाली भित्र्याउन पाइँदैन । प्रायः भदौको अन्तिमतिर यो काम गर्ने समय निकालिने नार मेताका स्थानीय मिङमर फुन्चो लामाले जानकारी दिए । 

‘घाँस नकुहिने समय हेरिन्छ । काटेको घाँस बटारेर राख्ने हो । महिनौसम्म राख्दा कुहिन सक्छ,’ उनले भने, ‘समय हेराएर काट्यो भने कुहिँदैन । हिउँदमा वस्तुले मिठो मानेर खान्छन् ।’ यो समय निकाल्न ढावाशेर्पा नामको छुट्टै समिति गठन भएको छ । सात सदस्यीय समितिमा लामासहित गाउँलेहरू हुन्छन् ।
‘लापरबाही नहोस् भनेर यस्तो गरेका हौं । करु पनि पात्रो हेरेर काट्छन् । नारमा भन्दा फूमा यो नियम झन् कडा छ,’ उनले थपे, ‘मन लाग्यो भनेर जतिखेर पनि काट्न पाइँदैन ।’ 

फूका मान्छेहरू हिउँदमा क्याङ झरे जस्तै नारका गाउँलेहरू च्याखु र मेतामा झर्छन् । कोही व्यापारका लागि शहर पुग्छन् । ‘माथिल्लो क्षेत्रका घाँस बर्खामा खाइसक्छ । हिउँदको लागि चरन क्षेत्र बेशीमा तोकेको हुन्छ,’ अर्का स्थानीय छोर्तेङछोवाङ लामाले भने, ‘दुईवटै गाउँको सीमामा गेट लगाएका छन् । पशुवस्तु गेट कट्यो भने समूहले कारबाही गर्छ ।’ 

उनका अनुसार कुनै पशु महेन्द्रपुल कट्यो भने पाँच सय रुपैयाँ प्रतिगोटा जरिमाना तिर्नुपर्छ भने पुल नकटेको भए तीन सय रुपैयाँ लाग्छ । जरिमाना लिने गोठालेको समूह बनेको छ । उक्त समूहले भनेको मानेनन् भने युवा क्लव र आमा समूहलाई उजुरी गरिन्छ । 

मुस्ताङ, डोल्पालगायतका जिल्लामा बाली लगाउने समयलाई साकालाका नामले चिन्छन् । त्यो दिन सबै गाउँले मिलेर रमाइलो गरी अन्नको बिउ राख्ने गरिन्छ । ना र फू गाउँमा पनि यसै गरी अन्नबाली लगाउने साइत छ ।

तिब्बती पात्रोअनुसार बाली लगाउने र थन्क्याउने साइत निकालिन्छ । अब फू र नारका बासिन्दाहरू विस्तारै बेशी झर्न थाल्छन् । कात्तिकदेखि चैतसम्म बेशीमा बस्छन्, हिउँ पर्न कम हुन थालेपछि गाउँ उक्लिन्छन् । 

जनसंख्याका हिसावले यो गाउँपालिका सबैभन्दा सानो हो । धेरैजसो रोजगारी र अध्ययनका लागि बाहिरिएपछि गाउँ रित्तिँदै गएको छ । नार र फू गाउँमा पढ्नका लागि कक्ष ३ भन्दा माथिल्लो स्कुल छैन । कक्षा ३ सम्म पढ्ने विद्यार्थीसमेत नपाएर विद्यालय बन्द गर्नुपर्ने अवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);