लामो समयको आन्तरिक विवाद नसल्टीएपनि नेपाली कांग्रेस यतिबेला १४ औं महाधिवेशनमा होमिएको छ । वडादेखि केन्द्र तहसम्मै नयाँ नेतृत्व चयन गर्न तीब्र रुपमा अघि बढेको कांग्रेस केन्द्रमा भने गुट उपगुट बनाएर नेतृत्व हात पार्ने कसरत भइरहेको छ । सिमित पदमा धेरैको आकांक्षी भएपछि कांग्रेसका उच्च तहका नेताहरु गुट उपगुट बनाएर महाधिवेशन तर्फ होमिएका छन् ।
कांग्रेसमा पहिलो पुस्ताका ७० बर्ष कटेका सभापति शेरबहादुर देउवा,रामचन्द्र पौडेलदेखि दोस्रो पुस्ताका उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला हुँदै प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शेखर कोइराला लगायत आ आफनो गुट बनाएर सभापति पदको आकांक्षी भएका छन् ।
युवापुस्ताबाट कल्याण गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । दोश्रो तहमा उपसभापतिदेखि सहमहामन्त्रीसम्म युवा पुस्ताको उम्मेद्वारीको लामै लाइन छ । अहिलेसम्म गगन थापा, विश्वप्रकाश शर्मा लगायतका युवा नेताले महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन् ।
गुटगत सहमतिकै बहानामा पार्टीका तीब्र आलोचना हुँदै आइरहेको कांग्रेस भित्र पार्टीको गतिविधि र विभिन्न मनोनयनमा आआफ्नो समूहगत चलखेल गर्ने पछिल्ला गुटमा देउवा, पौडल, सिटौला, कोइराला परिवार, प्रकाशमान समूह लगायत छन् ।
महाधिवेशनलाई लक्षित गर्दै उम्मेद्वारीमा धेरैले घोषण गरेपनि युवा पुस्ताले सभापतिमा सामुहिक पहल भने गरेको छैनन् । गुटगत पक्षधरताले एउटै पदमा उहि उमेर समुहका धेरै उम्मेद्वार हुने सम्भावना पनि उत्तिकै छ ।
पहिलो र दोस्रो पुस्ताका धेरै नेता सभापति भिड्न खोज्दा आफ्नो स्थान सुरक्षित देखेर पनि युवा पुस्ताले त्यसपछिको पद रोजेको देखिएको कांग्रेस नेता प्रदिप पौडेलले बताए ।
१३ औं महाअधिवेशनमा नेतृत्वबाट बाहिरिएको कोइराला परिवार फेरि नयाँ ढंगले अघि आउने सन्देश दिँदैछ । शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाको पछिल्लो मिलापले कांग्रेसको आन्तरिक गुटबन्दी प्रभाव पार्न सक्ने आकलन गर्न थालिएको छ ।
सबै गुटले आफ्नो लाइनलाई नै पार्टीको लाइन भएको दाबी गर्दै आइरहेका छन् । महाधिवेशन हुन केही महिना मात्रै बाँकी रहँदा यतिबेला विभिन्न गुटका नेता शिर्ष पदका लागि दौडधुपमा लागिपरेका छन ।