काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) टि- ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन अन्तर्गतको दोस्रो खेल समेत वर्षाका कारण रद्ध भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने तय भएको भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीचको खेलमा बर्षा भएपछी टससमेत हुन नपाई खेल रद्ध भएको हो ।
आयोजकले निर्धारित समय अनुसार १:३० बजे दोस्रो खेलको टस गर्नुपर्ने थियो । तर १:४० बजेसम्म पनि हिजो परेको पानीको कारण मैदान ओसिलो भएको थियो ।
ओसिलो मैदानलाई कुरेर बस्दा पुनः सोमबार समेत पानी परेको हो । पुनः पानी परेपछि अम्पायरले खेल रद्ध गर्ने निर्णय लिएका हुन् ।
खेल पुनः अर्को दिन हुने वा नहुने तथा अंक बाड्ने विषयमा भने आयोजकले पछि मात्रै निर्णय लिनेछ ।
यसअघि आजको पहिलो खेलअन्तर्गत काठमाडौं किङ्स इलेभन र बिराटनगर वारियर्सबिचको खेलसमेत हुन सकेन । हिजो (आइतबार) दोस्रो खेलको १० ओभर जारी रहँदा ठूलो वर्षा भई खेल सुचारु हुन सकेको थिएन ।
हिजोको बर्षाको कारण मैदान ओसिलो भएपछि बिहानी खेलसमेत टस नभइ रद्ध भएको थियो ।
यस खेल समेत पुनः खेलाइने वा नखेलाइने भन्ने टुंगो लागेको छैन ।