खोप लगाउन अस्वीकार गरे हिरासतमा राख्ने ताप्लेजुङ प्रशासनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

खोप लगाउन अस्वीकार गरे हिरासतमा राख्ने ताप्लेजुङ प्रशासनको चेतावनी

ताप्लेजुङ । ताप्लेजुङ प्रशासनले कोभिड-१९ विरुद्धको खोप लगाउन अस्वीकार गर्नेलाई हिरासतमा राख्नसक्ने समेतको चेतावनी दिएको छ ।

कोभिड-१९ नियन्त्रण तथा संकट व्यवस्थापन जिल्ला समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले खोप लगाउन योग्य व्यक्तिले खोप लगाउन अस्वीकार गरेमा संक्रामक रोग निवारण ऐन अनुसार ‘एक्सन’मा जाने बताए । ‘सबै कुराले खोप लगाउन योग्य भएको तर खोप लगाउन अस्वीकार’ गरेको अवस्थामा हिरासतमा लिनेसम्म योजना बनाउने प्रशासनले जनाएको छ । जिल्लामा १८ वर्षमाथिका नागरिकलाई अनिवार्य खाेप लगाउन भनिएकाे छ ।

ताप्लेजुङमा पर्याप्त मात्रामा खोप आइसकेको र खोप लगाउन योग्य सबैलाई आआफ्नो पालिकाका खोप केन्द्रमार्फत खोप लगाउन अनुरोध गरिसकिएकोले अब खोप लगाउन कसैले पनि अस्वीकार गर्न नहुने पाण्डेले बताए ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार ९ असोजदेखि १८ सम्म पालिका स्तरमा खोप अभियान सुरु भएको छ । जसअनुसार ९ देखि १३ असोजसम्म सिदिङ्वा गाउँपालिका, सिरिजंगा गाउँपालिका, मिक्वाखोला गाउँपालिका, फक्ताङलुङ गाउँपालिका र मेरिङ्देन गाउँपालिकाका सबै खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ । 

१० देखि १४ असोजसम्म फुङ्लिङ नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाका खोपकेन्द्रमार्फत खोप बितरण गर्ने कार्यतालिका  छ ।

१४ देखि १८ असोजसम्म आठराइ त्रिबेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाका खोप केन्द्रमार्फत खोप लगाइने छ । 
स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार ६१ हजार बढी डोज भेरोसेल खोप आइपुगेको छ ।

‘खोप लगाउन मिल्ने १८ वर्षमाथिका नागरिक अभियानबाट नछुटुन’भन्ने उद्देश्य सहित खोप अभियान सञ्चालन गर्नेगरी खोप वितरण कार्यतालिका बनेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);