ललितपुर । ललितपुर नगरप्रहरीले वर्षाै देखि अवरुद्ध भएको नगरभित्रका पैदलमार्गलाई व्यवस्थित बनाउन सुरु गरेको छ ।
पैदल यात्रुलाई असहज हुने गरी राखिएका फुटपाथ पसल, निर्माण सामाग्री, सवारीसाधन लगाएतका सामाग्री लाई हटाउनुको साथै नियम पालना नगर्नेलाई सोमबार देखि कार्वाही अगाडि बढाउने गरि तयारी गरिएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुंले बताए ।
‘ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशन अनुरुप नगर प्रहरीले पैदलमार्गलाई व्यवस्थीत गर्ने काम अगाडि बढाएका छौं । अहिले अव्यवस्थित रुपमा फुटपाथ पसल, निर्माण सामाग्री, सवारीसाधन पार्कीङ गर्नेहरुलाई सम्झाउँदै आएका छौं ।
सोमबार बाट नगरपालिकाको नियम नमान्नेलाई कार्वाही प्रकृया अगाडि बढाउँने छौं । वर्षौ देखि पदमार्गमा राखिएका रथका काठहरु देखि लिएर अन्य सामाग्री हटाउने हामी आफैं लागि परेका छौं ।’, उनले भने । ‘कमजोरी देखिए हामीलाई भन्नुहोस । राम्रो लागे अरुलाई भन्नुहोस । सुन्दर नगर बनाउन हातेमालो गरौं ।’
नगरपालिकाको निमय पालना नगरेको पाईएमा नगरप्रहरीलाई खबर गर्न नगर प्रहरी प्रमुख हाछेथुंले अनुरोध गरेका छन् । सोमबार बाट अव्यवस्थित मोटर साईकल पार्कीङ गरेमा रु ५ सय जरिवाना लाग्ने छ भने ४ पाङग्रेलाई हजार रुपैंया जरिवाना लाग्ने छ ।
दसौं वर्षदेखि पुल्चोकमा पैदलमार्ग अवरोध भैरहेकोलाई नगर प्रहरीले आफ्नो पहलमा हटाएको छ ।