आज हरितालिका तीज, हिन्दु नारीहरुले भगवान शिवको पूजा आरधना गरि मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

आज हरितालिका तीज, हिन्दु नारीहरुले भगवान शिवको पूजा आरधना गरि मनाउँदै

काठमाडौं । आज हरितालिका तिज, हिन्दू नारीहरूले मनाउने महत्वपूर्ण यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइन्छ ।

आजको दिन भगवान शिव र पार्वतीको पूजा अर्चना, भजन कृतन, कथा श्रवण गरिनुको साथै कतिपय ठाँउमा पूजा लगाउने परम्परा पनि रहेको छ । ब्रत बसेका महिला दिदीबहिनीहरु शिवालयमा गएर पूजा अर्चना गर्नुको साथै नाचगान मनोरञ्जन समेत गर्ने गर्दछन् ।

यो पर्व नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ । आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउँ भनी ब्रत बसेको मान्यता छ ।

यो पर्व धार्मिक दृष्टिकोणले अत्यन्त सूक्ष्म रहेको छ । जसमा धर्म संस्कार र संस्कृति तिजको धार्मिक महत्व भनेको अघिल्लो दिन पौष्टीक यूक्त सात्विक भोजन ग्रहण गरि अर्थात दर खाई आज भगवान शंकर र पार्वतीको भक्तिभावले पूजा उपासना गरिन्छ ।

ब्रत वस्ने महिला दिदीबहिनीहरुले आजको दिन बिहानै स्वच्छ भई भगवान शंकरलाई अमला तिल लगायतले बुकुवा घसेर स्नान गराई भक्तीभावले पूजा अर्चना गर्ने गर्दछन् ।
शास्त्रअनुसार विशेषत भगवान र पार्वतीको शायकालमा पूजा अर्चना गर्नुपर्ने भएता पनि ठाँउ र परिस्थीती अनुरुप पूजा अर्चना गर्ने गर्दछन् । आज भगवान शंकर र पार्वतीको मूर्ति, फोटो का साथै अनुकुल अनुसार बालुका मूर्ति बनाएर पूजा गर्ने चलन रहेको छ ।

यो पर्वमा विवाहिता महिलाहरुले आफ्नो पतिको दिर्घायू सुस्वाथ्यको, परिवारको सुख सम्वृद्धीका लागि र अविवाहिताले सुयोग्य पतिको कामना र आफ्नो प्रगती र उन्नतीको लागि सक्नेले निराहार नसक्ने फलहार ग्रहण गरि ब्रत बस्ने गर्दछन् ।

भोलिपल्ट गणेश चतुर्थीको पूजा गरि पारायण गरेर तीजको ब्रत समापन गरिन्छ । धार्मिक कृत्य गर्दा सहअतित्व रहेको हुनाले यो ब्रत पति पत्नि दुवै मिलेर ब्रत बस्दा भगवान शिव पार्वती पूजा अर्चना गर्नु राम्रो मानिन्छ ।

हरितालिका तीजले माता पार्वतीले भगवान शिव पाउँ भनी गरेको १०८ वर्षको तपस्याको सम्झना दिलाउने गर्छ । सत्ययुगमा आजैको दिन निराहार ब्रत बसी पार्वतीले महादेव स्वामी पाएको कथनअनुसार तिजको दिन ब्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

कोरोना माहामारीको जोखिमलाई ध्यानमा राखेर यो वर्ष पशुपतिलगायत देशैभरीका मुख्य शिवालयहरु दशनार्थीका लागि बन्द गरिएको छ ।

सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराईघरमा जीवन बिताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्वको रुपमा हेरिन्छ । यस दिन महिला दिदीवहिनीहरु माइतीमा आउने हुनाले सबै मिलेर नाचगान गरी रमाइलो गर्नेगर्ने परम्परा रहेको छ ।

यसैगरि तीज पर्वमा भक्तीभावले भगवान शिव पार्वती उपासना गर्नुको साथै नारीहरुले वर्षदिन भित्र पाएका दुःख पिडाहरु गीतमार्फत पोख्ने, नारीशक्तीको चिन्तन गरि आफूभित्रको आनन्दलाई चिनेर सहकार्य गरि आफ्ना मनमा भएका कुराहरुलाई समाजमा ल्याउने पर्व रुपमा मानिन्छ ।

विशेषत धर्म संस्कृतिले समाजलाई जडने हुनाले तिजपनि यस्तो पर्व हो जसले समाजलाई जोडने काम गर्छ । पहिला पहिला लामोसमय सम्म विवाह गरेर गएका छोरीचेलीहरु माइत जान पाएका हुन्नथे यस्तो पर्वमा माइत गई दिदीवहिनीहरु सँग रमाइलो गर्ने अनि आफूले वर्षदिन भित्रसम्म घरपरिवारमा पाएका दुःख पिडाहरुलाई गितको रुपमा गाएर नाच्ने रमाइले गर्ने परम्परा रहेको छ ।

त्यसले गर्दा विशेषत तिजका गितहरु पनि त्यस्तै शब्दले भरिएको सुन्न सकिन्छ । यस्ता पर्वले समाजलाई परिवर्तन गर्नु सकोस नारीशक्तिको महत्वलाई उजागर गर्न अझ बलियो माध्यम बनोस् ।

यसैबीच तिजको अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले यसपर्वले मौलिकतालाई कायम राख्दै सांस्कृतिक महत्वको जगेर्ना गर्न भड्किलोपन र खर्चिलोपनलाई हटाउदै जानुपर्ने बताईन ।

त्यसैगरी तिज पर्वको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नी प्रसाद सापकोटा लगाएत शीर्ष ब्यक्तिहरुले तिजले नेपाली समाजमा थप सौहाद्र्धता प्रदान गरोस् भन्दै शुभकामना ब्यक्त गरेका छन् ।

यसका अलवा कारोना भाइरसको माहामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै मौलिक संस्कृति र परम्पराहरूलाई संरक्षण गर्ने गरी चाड मनाउन पनि उहाँहरुले सबैमा आग्रह गरेका छन् ।

Leave a Reply