देउवाको गृह जिल्लामा कांग्रेस पार्टी कार्यालयद्वारा अधिवेशन स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

देउवाको गृह जिल्लामा कांग्रेस पार्टी कार्यालयद्वारा अधिवेशन स्थगित

विमल जैरु,
डडेल्धुरा ।
नेपाली कांग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सातौं जिल्ला अधिवेशन स्थगित भएको छ ।

कांग्रेसको १४औं महाधिवेशन प्रायोजनका लागि केन्द्रीय निर्वाचन समितिले पठाएको क्रियाशील सदस्यहरुको नामावलीमा व्यापक हेरफेर तथा थपघट गरिएको भन्दै कार्यसमिति बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सभापति एवम् सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले केन्द्रीय निर्वाचन समितिले खटाएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले निर्वाचन सामग्री नबुझाएको र उनी लगायत एक पक्षीय कार्यकर्ताहरुले बैठक पुस्तिकामा दस्तखत गर्न नमानेका कारण केही बेर नेपाली कांग्रेस डडेल्धुरा जिल्लाको पार्टी कार्यालय तनाव ग्रस्त भयो ।

आइतबार मात्रै सार्वजनिक भएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूचीबारे जिल्लामा हंगामा मच्चिएको छ । आफूहरुले ४ तहबाट प्रमाणित गरेर सिफारिस गरेको नाममा व्यापक हेरफेर भएको नेपाली कांग्रेसका डडेलधुराका नेतृ कमला विष्टले आपत्तिजनक रहेको बताईन् । ‘आइतबार मात्रै सार्वजनिक भएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूचीमा आफूहरुले ४ तहबाट प्रमाणित गरेर सिफारिस गरेको नाममा व्यापक हेरफेर भएको छ । हामी यो मान्दैनौं ।’, उनले भनिन् ।

कांग्रेस डडेल्धुरा जिल्लाका पार्टी उपसभापति करुणाकर भट्ट भन्छन् : ‘आफूहरुले नामै सिफारिस नगरेका ३ सय १२ नयाँ सदस्यहरुको नाम माथिबाटै राखिएको छ । त्यस्तै ३ हजार १ सय ४४ नयाँ र २ हजार ५ सय ९८ पुराना गरेर केन्द्रबाट ५ हजार ७ सय ४२ जनाको नाम नामावलीमा सार्वजनिक भएको छ ।’

यता केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर मल्लले केन्द्रीय निर्वाचन समितिको निर्णय अनुसार यहि भदौ २५ गते गाउँपालिका/नगरपालिका वडा अधिवेशन गरिने तालिका प्रकाशित गरेका छन् ।

पार्टीका कार्यसमिति सदस्यहरुले केन्द्रीय सभापति शेरबहादुर देउवाले आफू निकटका उम्मेद्वार भीमबहादुर साउदलाई पार्टी सभापति बनाउन त्यस्तो गरेको आरोप लगाइरहेका छन् ।

डडेल्धुरामा सात स्थानीय तहमध्ये पाँच स्थानीय तहका पार्टी संरचना र ५२ मध्ये तीन दर्जन बढी वडा कार्यसमितिहरुले पनि क्रियाशील सदस्यता विवाद समाधान गरेरमात्रै अधिवेशन प्रक्रिया अगाडि बढाइनुपर्ने माग राखेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);