‘पत्रकारहरुको शिक्षामा लगानी नभएकाले पत्रकारिता गुणस्तीय हुन सकेन’ | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

‘पत्रकारहरुको शिक्षामा लगानी नभएकाले पत्रकारिता गुणस्तीय हुन सकेन’

काठमाडौं । वरिष्ठ पत्रकार तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष राजेन्द्र दाहालले पत्रकारहरुको शिक्षादिक्षा र प्रशिक्षणमा लगानी नगरिएका कारण पत्रकारिता गुणस्तरीय हुन नसकेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकारिता क्षेत्रमा देखिएका समस्या, चुनौती र आगामी कार्यभारको सम्बन्धमा गरेको अन्र्तक्रियामा बोल्दै वरिष्ठ पत्रकार दाहालले पत्रकारहरुको शिक्षादिक्षा, प्रशिक्षण तथा अनुसन्धानमा लगानी गर्न नसकिएको कारण पत्रकारिता क्षेत्र गुणस्तरीय हुन नसकेको बताएका हुन् ।

पत्रकारको वृत्तिविकासमा राज्यले लगानी गर्न नसकेका कारण पत्रकारहरुले उत्कृष्ट विषयवस्तुहरु ल्याउन नसकेको उनको निष्कर्ष छ । केही विश्वविद्यालय र क्याम्पसहरुले पत्रकारिताका विद्यार्थी उत्पादन गरेकै आधारमा पत्रकारहरुको मागलाई धान्न नसकिने पनि उनले स्पष्ट पारे । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रमा हूबहु कपी गर्ने समस्या विकराल रुपमा रहेकोले त्यसलाई रोक्नका लागि प्रेस काउन्सिल नेपाल केन्द्रीत भएर लागेको बताए ।

यसको सम्बन्धमा सम्बन्धित निकायलाई बोलाएर छलफल गर्नेदेखि सार्वजनिक विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराइएको पनि उनले बताए । त्यसैगरी चलिरहेको मिडियासँग मिल्दोजुल्दो नाम राख्ने कामलाई पनि निरुत्साहित पार्न लागिएको उनले जानकारी दिए । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका उपप्राध्यापक तथा पत्रकार जगत नेपालले पत्रकारिता उद्योगको रुपमा विकास भएपनि जनशक्ति व्यवस्थापन भने गर्न नसकेको बताए ।

समाचार कक्षहरु कमजोर देखिन थालेको उनको टिप्पणी छ । प्रविधिको विकास र परिवर्तनसँगै ठूला मिडियाहरु संकटमा परेका र जसले राम्रो विषयवस्तु दिन्छन् तिनै मिडिया प्रसिद्ध हुने अवस्था रहेको उनले बताए । ठूला मिडियामा पनि गुणस्तरीय विषयवस्तु जान छोडेको उनको भनाई छ । अहिलेको परिस्थितिमा त्रिभुवन विश्वविद्यालयले उत्पादन गरेको जनशक्तिले नै पत्रकारिता क्षेत्रको जनशक्ति धानिरहेको उनको दाबी छ ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले मिडिया क्षेत्रका लगानीको स्रोत राज्यले खोज्नुपर्ने बताए । मिडिया हाउसले केही वर्षको खर्च, जनशक्तिको स्रोत राज्यले खोज्नुपर्ने र निश्चित समयसम्म पारिश्रमिक दिनसक्ने प्रत्याभूति हुनुपर्ने औंल्याए । महासचिव पुरीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएका कुराहरु नियमन गर्ने नाममा नियन्त्रण गर्न खोजिए पत्रकार महासंघले विरोध जनाउने उल्लेख गरे । यद्यपी राम्रो नियतले गरिएको नियमनको भने महासंघले विरोध नगर्ने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);