बिमल क्षेत्री,
रुपन्देही । भदौ १७ गतेका लागि बोलाइएको लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टांस गरेर स्थगित भएको छ । प्रदेश सभा बैठक सुचारू गर्ने बिषयमा विपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेको र भदौ १८ गते नेपाली कांग्रेसको वडा अधिवेशन समेत रहेकोले भदौ १७ गतेका लागि बोलाइएको बैठक ३० गते बस्ने गरी स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण बैठक पटकपटक स्थगित हुँदै आएको थियो ।
विपक्षी दल एमालेले आफुहरूको माग सम्बोधन नभएसम्म बैठक अवरुद्ध गर्ने अडान छाडेका छैनन् ।
नेकपा एमालेले सूर्य चुनाव चिन्ह लिएर निर्वाचित तत्कालीन नेकपाकी प्रदेश सभा सदस्य बिमला कुमारी खत्री वली र स्वतन्त्र राजनीतिक समूहका अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै निरन्तर वैठक अवरुद्ध गर्दै आएको हो ।
प्रदेश सभा सचिवालयले भने सचिवालयको रेकर्डमा वली नेकपा माओवादी केन्द्र र शाही स्वतन्त्र राजनीतिक समुह उल्लेख भएकोले एमालेको पत्रको आधारमा उनिहरूलाई पदमुक्त गर्न नमिल्ने पत्र एमालेलाई दिइसकेको छ।




