काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा रहेका विद्यालयहरुलाई भौतिक रुपमानै खोल्न नगरपालिकाले अनुमति दिएको छ । सरकारी र सामुदायिक दुबै विद्यालय सञ्चालन गर्न दिने नगरपालिकाले निर्णय गरेको हो ।
विद्यालयले स्वास्थ्य मापदण्ड पूरा गरेको वा नगरेको नगरपालिकाको शिक्षा शाखाले कडाइका साथ अनुगमन गर्ने तयारी गरेको नगरपालिकाले जनाएको छ ।
शिक्षा समितिले आजबाट विद्यालय सञ्चालन गर्न सक्ने अनुमति र परिपत्र जारी गरे सँगै विद्यालय खुलेका छन् । स्वास्थ्य सावधानी अपनाएर, विद्यालयको भौतिक पूर्वाधार हेरेर, आवश्यक कोभिड–१९ फैलिन नदिन आवश्यक अन्य पूर्वाधारको व्यवस्थासहित भौतिकरुपमै विद्यालय सञ्चालनका लागि नगरपालिका (स्थानीय तह)ले अनुमति दिएको हो ।
विद्यालयमा भौतिक दूरी कायम भएको, साबुन, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध भएको हुनुपर्नेछ भने तापक्रम नापेर मात्रै विद्यालयमा प्रवेश दिइनेछ । यदि कुनै विद्यालयमा संक्रमण फैलियो भने उक्त विद्यालय तत्काल बन्द गरिनेछ र कुनै टोलमा संक्रमण बढेको पाइएमा पनि उक्त टोलका विद्यालय बन्द गर्न सक्ने छ ।
भौतिकरुपमै विद्यालय खोल्ने व्यवस्थाका लागि, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले ३ साताअघि शिक्षा सचिवलाई भेटेर भौतिकरुपमै विद्यालय खोल्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।
तत्पश्चात स्वास्थ्य मापदण्डको पालना गर्नेगरी विद्यालय सञ्चालनको अनुमति स्थानीय तहलाई नै दिएको भन्दै स्थानीय तहबाटै अनुमति लिएर विद्यालय सञ्चालन गर्न सुझाइएको थियो ।