बागलुङमा ५५ हजारले लगाए कोरोनाविरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बागलुङमा ५५ हजारले लगाए कोरोनाविरुद्धको खोप

बागलुङ । बागलुङमा हालसम्म ५५ हजार २ सय ३२ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । विभिन्न चरणमा सञ्चालित खोप अभियानका क्रममा ६३ हजार १ सय ७९ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालय बागलुङका अनुसार अब ७ हजार ९ सय ४७ जना दोस्रो डोजको पर्खाइमा छन् ।

स्वास्थ्य कार्यालयका खोप सुपरीवेक्षक राजु खत्रीले जिल्लामा कोभिडशिल्ड ४ हजार ४ सय ४७, भेरोसेल २६ हजार ६ सय ९४, ज्योनसन १२ हजार १ सय ७८ र एस्ट्राजनेका ११ हजार ९ सय १३ जना गरी ६३ हजार १ सय ७९ जनाले खोपको पूर्ण मात्रा लगाएको जानकारी दिए ।

बागलुङका धेरै जसो स्थानीय तह कोरोना संक्रमणको न्यून जोखिमको सूचीमा परेका छन् । दुई हप्ताको कडा निषेधाज्ञापछि पुराना संक्रमिन निको हुने बढ्दो र नयाँ थपिने क्रम न्यून रहेको खत्रीले बताए । जिल्लामा विभिन्न स्थानीय तहका कूल ८५ वटा वडामध्ये ४७ वडा शुन्य संक्रमित रहेको उनले बताए ।

स्वास्थ्य कार्यालय बागलुङमा शुन्य संक्रमित भएको वडालाई न्यून जोखिम, एकदेखि सात जनासम्म संक्रमित भएको वडालाई मध्यम जोखिम र सात जना भन्दा बढी संक्रमित भएको वडालाई उच्च जोखिम क्षेत्रको सूचीमा राखिएको छ ।

जिल्लाका दश स्थानीय तह मध्ये तमानखोला गाउँपालिकामा संक्रमित छैनन् । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौका अनुसार बागलुङ नगरपालिकाको वडा नम्बर २, ३, ८, १२ र १४, गलकोट नगरपालिकाको वडा नम्बर–३ र काठेखोला गाउँपालिकाको वडा नम्बर ७ संक्रमणको उच्च जोखिममा छन् ।

गत साउन २८ गतेदेखि भदौ १० गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरी जिल्लाव्यापी निषेधाज्ञा गरिएपछि संक्रमित संख्या घट्दै गएको स्वास्थ्य कार्यालयका महामारी फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । हाल जिल्लामा २ सय १७ जना सक्रिय संक्रमित छन् ।

अधिकांश संक्रमितलाई कडा लक्षण नभएको हुँदा घरमै बस्न आग्रह गरिएको स्वास्थ्य कार्यालयका प्रमुख गुरौले बताए । घरमा रहने संक्रमितलाई सम्बन्धीत स्थानीय तहका स्वास्थ्यकर्मीको आवश्यक निगरानीमा राखिएको उनले बताए ।

हालसम्म कूल ७ हजार ४ सय ६० जना संक्रमित भएकोमा ७ हजार १ सय ७७ जना निको भएका छन् । संक्रमणबाट जिल्लामा ६६ जनाले ज्यान गुमाइसकेका छन् । जिल्लामा संक्रमणपछि निको हुनेको दर ९६।२ प्रतिशत र मृत्युदर ०।९ प्रतिशत रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);