सर्लाही । सर्लाहीस्थित नेपाल–भारत सीमा नाका फेन्हरालाई मदन भण्डारी लोकमार्गसँग जोड्न नेपाली कांग्रेस सर्लाहीका नेताहरुले पहल सुरु गरेका छन् ।
मधेसलाई पहाड हुँदै हिमालसम्म जोड्नेगरी सर्लाहीको बिष्णु गाउँपालिकास्थित फेन्हरा नाकाबाट सिधा सडक सञ्जाल मदन भण्डारी लोकमार्गमा जोड्न पहल सुरु गरेको नेता विनोद खनालले बताए । उक्त सडकअन्तर्गत फेन्हरा नाकालाई हरिवन–क्यानेश्वर सडक हुँदै सिधा मदन भण्डारी लोकमार्गसँग जोड्न सकिने छ । सर्लाहीको हरिवन र सिन्धुलीको क्यानेश्वर सडक भने अहिले पनि सञ्चालनमै छ । चुरे पहाड हुँदै आएको उक्त सडक कच्ची भएका कारण बर्षातको समयमा सर्लाहीको हरिवनतर्फको भाग जिर्ण हुने गरेको छ ।
सर्लाहीको हरिवन-क्यानेश्वर सडकलाई उनीहरुले यसअघि नै सिन्धुलीको झनझनेस्थित मदन भण्डारी लोकमार्गमा जोड्न पहल गरेका थिए । यसले भुगोलदेखि भुगोलसम्मको सम्बन्ध विस्तार गर्ने भएकोले हरिवन–फेन्हरालाई जोड्ने प्रस्ताव समेटिएको हो । प्रस्तावित सिमरा फेन्हरादेखि हरिवन–क्यानेश्वर हुँदै मदन भण्डारी लोकमार्गसम्म जोड्ने सडक लिंक रोडको रुपमा प्रयोग भइरहेकोले यसलाई स्तरोन्नति गर्ने, कालोपत्रे एवं पुल निर्माणका गर्ने गरी पहल थालिएको हो ।
नेपाल–भारत सीमा दशगजादेखि सिन्धुलीस्थित मदन भण्डारी लोकमार्गसम्म सडक सञ्जाल जोड्न पहल थालेका नेपाली कांग्रेसका नेताहरुले सीमावर्ती क्षेत्र विष्णु गाउँपालिका र कौडेना गाउँपालिकाका अध्यक्षहरुसँग भेट गरेका छन् । कांग्रेसका पूर्वपार्टी जिल्ला उपसभापति एवं महाधिवेशन प्रतिनिधि विनोद खनाल नेतृत्वको टोलीले बुधबार संचारकर्मीसहित सीमाक्षेत्रको अवलोकन गर्दा विष्णु गाउँपालिका अध्यक्ष जवाहारलाल राय र कौडेना गाउँपालिका अध्यक्ष रामप्रसाद यादवले उक्त कार्यमा आफूहरुको समर्थन रहेको बताए । सडकसञ्जाल भविष्यमा यस क्षेत्रको लाइफलाइन बन्न सक्ने भन्दै उनीहरुले यस अभियानमा लागिपर्ने प्रतिबद्धता जनाए ।
दुवै अध्यक्षले डीपीआर निर्माणका लागि बजेट उपलब्ध गराउने घोषणा गरे । यस अभियानलाई मूर्त रुप दिन केही दिनभित्रै हरिवनदेखि सीमरा फेन्हरासम्मको सडकअन्तर्गत पर्ने हरिपुर, बरहथवा, चक्रघट्टा तथा हरिवनबाट उत्तर सिन्धुलीको हरिहरपुरगढीसम्मका जनप्रतिनिधिसँग छलफल गरिने कांग्रेस नेता खनालले बताए ।
भारतीय सीमाक्षेत्रदेखि प्रदेश दुई हुँदै बागमती प्रदेशको मदन भण्डारी लोकमार्गसम्म जोड्ने सडक यस क्षेत्रका आर्थिक, सामाजिक, साँस्कृतिक र भौगोलिक अवस्थामा ठुलोकोशेढुंगा सावित हुने नेता खनालको दावी छ । सबै स्थानीय तहसँग मिलेर सडक स्तरोन्नतिको डीपीआर निर्माणका लागि बजेट छुट्याउने तथा डीपीआर अनुसारको बजेट संघीय र प्रदेश सरकारबाट छुट्याउनका लागि पहल गरिने नेता खनालले जानकारी दिए । सडक सञ्जालले दुई फरक भुगोललाई भौगोलिक रुममा समेत जोडने जानकारहरुको भनाइ छ ।