काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि भारत सरकारले उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय जनता र सरकारको तर्फबाट नेपाल सरकारमार्फत् वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।
अक्सिजन प्लान्ट ग्रहण गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे । उनले भारत सरकारको यस सहयोगले अक्सिजनको अभावलाई पूर्ति गर्ने बताए । भारत सरकारले कोभिड नियन्त्रणका लागि नेपाल सरकारलाई खोप लगायतका अन्य स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले आगामी दिनमा पनि कोभिशिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गरे ।
सो अवसरमा मन्त्री श्रेष्ठले वर्तमान सरकार बनेको एक महिनाको अवधिमा करिब ५० लाख खोप लगाइसकेको पनि जानकारी दिए । १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको दोस्रो मात्रा लगाइसकिएको पनि उनले जानकारी दिए ।
अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोभिड १९ संक्रमणका बेलामा अक्सिजन प्लान्टको आवश्यकता पर्ने भन्दै नेपाल र भारत छिमेकी देश भएका नाताले आपसमा निर्भर भएर काम गर्नुपर्ने बताए । कोभिड १९ नियन्त्रणका लागि नेपाल सरकारलाई आगामी दिनमा पनि सहयोग गर्न भारत सरकार तयार रहेको उनले बताए ।