जेठ २ मा फर्किन अध्यक्ष ओली सहमत, भोलिको स्थायी समितिले अनुमोदन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जेठ २ मा फर्किन अध्यक्ष ओली सहमत, भोलिको स्थायी समितिले अनुमोदन गर्ने

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउन सहमत भएका छन् । सोमबार आफ्नो निवास बालकोटमा पछिल्लो समय तटस्थ बसेका ९ जना स्थायी समिति सदस्यसँगको छलफलमा अध्यक्ष ओलीले पार्टीका सबै तहका संरचना (वडा, जिल्ला, प्रदेश, केन्द्र कमिटी) खारेज गर्ने सहमति जनाएका हुन् ।

ओली सहमत भएसँगै विगतमा माधव नेपाल समूहमा रहेर हाल तटस्थ रहेका नेताहरु स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन् । आज भएको सहमतिलाई अनुमोदन गर्न अध्यक्ष ओलीले मंगलबार स्थायी समिति बैठक बोलाएका छन् ।

बालकोट बैठकमा उपाध्यक्षद्वय भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव योगेश भट्टराई, उपमहासचिव घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टसहितका नेताहरु सहभागी थिए । संस्थापन पक्षबाट अध्यक्ष ओली, प्रवक्ता प्रदीप ज्ञवाली सहभागी थिए ।

छलफलमा अध्यक्ष ओली पुस ५ गतेपछि आफूले बनाएका सबै पार्टी संरचना खारेज गर्न सहमत भएका थिए । यदि माधव नेपाल नयाँ दल दर्ता गर्नबाट फर्किन्छन् र उनले पुस ५ गतेपछि गठन गरेका सबै संरचना खारेज गर्न सहमत भए १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन आफू तयार भएको ओलीले मध्यमार्गी नेताहरूलाई वचन दिएका छन् ।

नेता नेपालले निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका छन् । आयोगले बुधबार केन्द्रीय सदस्यहरूलाई सनाखत गर्न बोलाएको छ ।

राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेशअनुसार नेता नेपाललाई ४१ केन्द्रीय सदस्य र २४ सांसद भए नयाँ पार्टी दर्ता गर्न पुग्नेछ । त्यसैले पनि माधव नेपाललाई छाडेका मध्यमार्गी नेताहरूले आज ओलीलाई भेटी कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि दबाब बढाएका हुन् ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आज भएका अनौपचारिक सहमतिलाई भोलि बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्ने जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);