काठमाडौं । थरुहट-थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनाको ६ वर्ष पूरा भएको छ ।
६ वर्षअघि २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।
उक्त घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले आजीवन कैदको सजाय भोगिरहेका छन् । टीकापुर घटना भएको ६ वर्षपछि पनि थरुहट-थारुवान संयुक्त मोर्चा अधिकार प्राप्तीका लागि भन्दै शान्तिपूर्ण आन्दोलनमै छ ।
थरुहट-थारुवान संयुक्त मोर्चा कैलालीले घटना भएको ६ वर्ष पुगेको अवसरमा सोमबार लम्कीमा शान्तिपूर्ण प्रदर्शन र मंगलबार ‘कालो दिन’का रुपमा मनाउने कार्यक्रम राखेको छ ।
घटनाको करिब साढे ३ वर्षपछि टीकापुर घटना सम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतले प्रतिनिधिसभा क्षेत्र नम्वर १ बाट विजयी सांसद चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
तर जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपयालमा पुनरावेदन गरेपछि रिहा भइसकेका लक्ष्मण थारुलाई पनि जन्म कैद हुने फैसला सुनाइएको थियो । अहिले उनी फरार छन् । अदालतले थारु समुदायमाथि अन्याय गरेको भन्दै रेशम चौधरीसहितका कैदीबन्दी रिहाइ गर्नुपर्ने माग थरुहट थारुवान मोर्चाले राख्दै आएको छ ।