एजेन्सी । विद्रोही समूह तालिबानले अफगानस्तिानको दोस्रो ठूलो शहर कान्धार पनि कब्जामा लिएको दाबी गरेको छ । तालिबान विद्रोहीले रातभरको संघर्षपछि अफगानस्तिानको दोस्रो ठूलो शहर कान्धार कब्जामा लिएको दाबी गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
विद्रोहीले कान्धारको जेल कब्जा गरेर राजनीतिक कैदीबन्दीहरुलाई मुक्त गरेको एक भिडियो समेत सार्वजनिक भएको छ । उक्त भिडियोमा ठूलो संख्यामा कैदीहरु मुक्त भएको र उनीहरुले तालिवानको पक्षमा नाराबाजी गरेको सुनिन्छ ।
तालीवानी शासनकालको सबैभन्दा महत्वपूर्ण क्षेत्र मानिने कान्धारमा पूर्णरुपमा विजयी भएको दाबी गर्दै विद्रोहीले यो ठूलो जित भएको उल्लेख गरेका छन् । अफगानिस्तानमा पछिल्लो केही दिनयता तालिबान विद्रोहीले रणनीतिक रुपमा महत्वपूर्ण रहेका प्रान्तीय शहरहरु कब्जा गरिरहेका छन् ।
बिहीबार तालिबानले राजधानी काबुलबाट १ सय ५० किलोमिटरको दूरीमा रहेको घज्नी सहरमा कब्जा गरिसकेको छ । योसँगै तालिबानले अफगानीस्तानका ३४मध्ये ११ वटा प्रान्तीय राजधानीमा कब्जा गरिसकेको छ ।
तालिबानले अब राजधानी काबुल पनि कब्जा गर्न सक्ने अनुमान गर्न थालिएको छ । सरकारले अफगानिस्तानका धेरै ठाउँमाथिको नियन्त्रण गुमाउदै गएको छ । विषेश गरेर देशको उत्तरी र पश्चिमी क्षेत्रमा तालिबान लडाकूले आफ्नो पकड बढाउदै लगेका हुन् ।