एजेन्सी । इंग्लिस क्लब चेल्सीले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्ध गरेको छ ।
लण्डन क्लब चेल्सीले बिहीबार फरवार्ड लुकाकुलाई अनुबन्धित गरिएको जनाएको हो । लुकाकुले चेल्सीसँग पाँच वर्षको सम्झौता गरेका छन् । लुकाकु सात वर्षपछि चेल्सी फर्किएका हुन् ।
लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए । चेल्सी छाड्नु अघि उनले १५ खेल खेलेका थिए । चेल्सी छाडेर लुकाकु एभर्टन गएका थिए । चेल्सीले इटालियन क्लब इन्टर मिलानबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा लुकाकुलाई अनुबन्ध गरेको हो ।
एभर्टनबाट सन् २०१४ देखि २०१७ सम्म उनले १ सय ६६ खेलमा ८७ गोल गरेका थिए । सन् २०१७ मा म्यानचेस्टर युनाईटेडमा अनुबन्धित भएका लुकाकुले ओल्डट्राफोर्ड बसाईमा ९६ खेल खेल्दै ४२ गोल गरेका थिए ।
लुकाकुले सिरी ’ए’ मा गत सिजन २४ गोल गरेका थिए । उनले इन्टरलाई ११ वर्षपछि लिगको उपाधि जिताएका थिए । ९ वर्षको युभेन्ट्सको एकाधिकार तोड्दै इन्टरले गत सिजन सिरी ’ए’ को उपाधि जितेको थियो ।




