एजेन्सी । अफगानिस्तानले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भारतसँग आग्रह गरेको छ । अगस्ट महिनाका लागि राष्ट्र संघीय सुरक्षा परिषद्को अध्यक्षता गरिरहेको भारतसँग अफगानिस्तानले आपत्कालीन बैठक बोलाउन काग गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
अफगानिस्तानमा विद्रोही समूह तालिबानले आक्रमण बढाइरहेका बेला अफगान विदेशमन्त्री मोहमम्मद हनिफले भारतीय समकक्षी एस जयशंकरलाई टेलिफोन गरी सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन आग्रह गरेका हुन ।
अफगानिस्तानमा जारी हिंसा कम गर्न र शान्ति प्रक्रिया टुंगोमा पु¥याउने विषयलाई केन्द्रमा राखेर बैठक आयोजना गर्न विदेशमन्त्री हनिफको आग्रह छ । अफगानी विदेशमन्त्री हनिफको ट्विटरमा भारतीय विदेशमन्त्रीसँग संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा अफगानिस्तानका विषयमा एक आपत्कालीन सत्र आयोजनाका लागि कुराकानी गरेको उल्लेख छ ।
राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायले तालिवानको हिंसा र रोक्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने हनिफको विश्वास छ । अंग्रेजी वर्णानुक्रमअनुसार सुरक्षा परिषद्को अध्यक्षता हरेक महिना परिवर्तन हुने गर्छ । फ्रान्सपछि भारतले सुरक्षा परिषद्को अध्यक्षता गर्ने मौका पाएको हो ।
पछिल्लो समय तालिवानले अफगानीस्तानको धेरै क्षेत्रमा कब्जा गरिसकेको अवस्थामा काबुलको सबैभन्दा सुरक्षित ग्रीन जोनमा रक्षमन्त्रीको आवासमै बम विस्फोट भएपछि अफगानीस्तानले यस्तो आग्रह गरेको हो ।