इरानबारे अमेरिकाको ‘व्यापक’ आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

इरानबारे अमेरिकाको ‘व्यापक’ आलोचना

एजेन्सी, २२ पुष । संयुक्त राज्य अमेरिकाले इरानमा जारी तनावबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन माग गरेकोमा सदस्य राष्ट्रहरूबाट व्यापक आलोचनाको सामना गर्नुपरेको छ।

चीन र रुसबाहेक फ्रान्सेली राजदूतले पनि अमेरिकामाथि प्रश्न गरेका छन्। इरानमा भएका प्रदर्शनलाई लिएर सुरक्षा परिषद्को बैठक माग गरेकोमा रूसले कडा शब्दमा अमेरिकाको आलोचना गरेको छ। रूसी राजदूतले ‘आन्तरिक मामिलामा सुरक्षा परिषद् मुछिए’ त्यसबाट राष्ट्रसंघको उच्च निकायलाई क्षति पुग्ने बताए।

त्यसको केही मिनेटअघि अमेरिकी राजदूत निक्की हेलीले ‘साहसी व्यक्तिहरूको शक्तिशाली प्रदर्शन’ भन्दै इरानमा गरिएका प्रदर्शनको प्रशंसा गरेकी थिइन्। इरानी राजदूतले सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्रको हैसियतमा अमेरिकाले पदको दुरूपयोग गरिरहेको आरोप लगाएका छन्।

इरानमा भएका प्रदर्शनका क्रममा कम्तीमा २१ जनाको ज्यान गएको छ। आर्थिक अवस्थालाई लिएर गत डिसेम्बरको अन्त्यतिर एउटा शहरबाट शुरू भएको प्रदर्शन सरकार र सत्ता चलाउने धर्मगुरूहरूविरुद्ध नाराबाजीसहित छिट्टै अरू शहरहरूमा फैलिन पुग्यो।

गत बुधवार इरानको रिभोल्युशनरी गार्डका प्रमुखले ‘देशद्रोहको पराजय’ हुने घोषणा गरेका थिए। प्रदर्शनलाई लिएर अमेरिकाले बैठक बोलाउन माग गरेकोमा आलोचना गर्दै इरानी राजदूत गोलामाली खोश्रुले ‘समग्र विश्वको नजरमा अमेरिकाले नैतिक, राजनीतिक र कानूनी अधिकार तथा विश्वसनीयता गुमाइसकेको’ बताए।

इरानी विदेशमन्त्री जवाद जारिफले सुरक्षा परिषद्ले उसको ‘जनादेशमाथि कब्जा गर्ने अमेरिकाको नाङ्गो प्रयासलाई अस्वीकार गरिदिएको’ भन्दै सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। सरकारी टेलिभिजनका अनुसार शुक्रवार फेरि सरकारका दशौं हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);