एजेन्सी । घरेलु टिम बंगलादेशले पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ ।
मंगलबार ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो । टी–ट्वान्टी अन्तराष्ट्रियमा अष्ट्रेलिया विरुद्ध बंगलादेशको याे पहिलो पटक हाे यस अघि बंगलादेशले टी–ट्वान्टीमा अष्ट्रेलियालाई हराउँन सकेको थिएन ।
बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र जोड्न सक्यो । अष्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै मिचेल स्टार्कले १४ तथा कप्तान म्याथ्यु वेडले १३ रन बनाए । अष्ट्रेलियालाई सस्तैमा समेट्न बंगलादेशका नासुम अहमेदले ४ विकेट लिए भने मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । बंगलादेशका लागि शकिब अल हसनले ३६, मोहमद नाइमले ३०, अफिफ होसेनले २३ तथा कप्तान महमुद उल्लाहले २० रन बनाए ।
अष्ट्रेलियाका जोस हाजलउडले ३ विकेट लिए भने मिचेल स्टार्कले २ विकेट लिए । यस जितसँगै बंगलादेशले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।