शुन्य समय : दार्चुलाको घटना र खोपको विषयलाई लिएर एमाले सांसदहरु सरकारमाथि खनिए | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

शुन्य समय : दार्चुलाको घटना र खोपको विषयलाई लिएर एमाले सांसदहरु सरकारमाथि खनिए

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु दार्चुलाको घटना र खोपको विषयलाई लिएर सरकारमाथि खनिएका छन् ।

प्रतिनिधि सभाको शुन्य समयमा बोलेका प्रमुख प्रतिपक्षका सांसदहरुले दार्चुला घटनामा सरकार मौन बसेको आरोप लगाएका छन् । भारत सरकारका विरुद्ध बोल्न नसकेको, कम्र्फटेवल भएको भन्दै निन्दा गरेका छन् ।

प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि आफु बसेको स्थानबाट उठेर सरकारको ध्यानाकर्षण गराएका नेकपा एमालेका सांसदहरुले शुन्य समयको भरपुर उपयोग गरेका छन् । सरकारले छानबिन समितिको निष्कर्ष आउनुअघि धारणा सार्वजनिक उचित नहुने बताइरहेका बेला सरकारले भारतीय राजदूतलाई बोलाएर स्पष्टिकरण लिनुपर्ने आवाज उठेको छ । त्यसैगरी सत्तारुढ दलका सांसदहरुले पनि समसामयिक विषयमा आफ्नो धारणा राखेका छन् ।

सांसद विमला नेपालीले ३ वर्ष अगाडी नै प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापित गर्ने घोषणा गरेको भएपनि हालसम्म विस्थापित हुन नसकेको भन्दै नेताहरुले सक्ने काम बारे मात्रै बोल्न सुझाईन् ।

सांसद भरतकुमार साहले राज्य व्यवस्था समितिबाट पास भएर संसदमा आएको नागरिकता सम्बन्धी विधेयकलाई संसदबाट छिट्टै पास गराउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । उनले सवारी साधनको लाइसेन्स परिक्षा नखुलेको भन्दै त्यसलाई पनि खुलाउनुपर्नेमा जोड दिए ।

सांसद भिमसेन दास प्रधानले विदेश जाने श्रमिकहरु खोप लगाएको प्रमाणित गर्न भीडभाड गर्दै लाइनमा बस्नुपरेको भन्दै त्यसलाई सहज बनाउन सरकार समक्ष माग गरे ।

सांसद भुमि प्रसाद त्रिपाठीले दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरे । वर्तमान सरकार भारतीय दादागिरीका सामु निरिह भएको उनको टिप्पणी छ ।

सांसद मनकुमारी जिसीले केही महिनाअघि दुई राउटे युवतीलाई अमानवीय व्यवहार गरिएको र उनीहरुको जीवन नै जोखिममा रहेको प्रचार प्रसार भइरहेको भन्दै उनीहरुको हालको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरिन् ।

सांसद महेश्वरजंग गहतराज अथकले दार्चुला घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न कुटनीतिक र राजनीतिक तहबाट छलफल अगाडी बढाउनुपर्ने बताए ।

सांसद मिनबहादुर विश्वकर्माले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसको छानविन गर्न माग गरे । त्यहाँ आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीहरुको मागलाई सम्बोधन गरिनुपर्ने उनले बताए ।

सांसद मेटमणि चौधरीले अब प्रतिनिधि सभा पूरा अवधि चल्नुपर्ने बताए । संविधानको पालना गरी सोही अनुरुप सरकार सञ्चालन गर्न उनले सरकारको ध्यानाकर्षण गराए । सत्तामा बस्नेहरुलाई घमण्ड नदेखाउन पनि उनले सचेत गराए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);