काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यताको नवीकरण र अध्यावधिक गर्न साउन २३ गतेसम्मको समयसीमा तोकेको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आइतबार बसेको स्थायी कमिटीको बैठकले सदस्यता नवीकरण र अध्यावधिकका लागि साउन २३ गतेसम्मको समयसीमा तोकेको महासचिव इश्वार पोखरेलले जानकारी दिए ।
महासचिव पोखरेलले भने–‘आज हामीले खासगरी पार्टी सदस्यतालाई नवीकरण गर्ने र अध्यावधिक गर्ने एउटा समयसीमा तय गरेका छौं। पहिले नै निर्देशन दिइसकेको हो। अब साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीहरुले, खासगरी जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीले सदस्यता नवीकरण र अध्यावधिक गरेर केन्द्रमा पठाइसक्नुपर्छ ।
महासचिव पोखरेलले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्न लागिएकाले सदस्यता अध्यावधिक र नवीकरण गर्ने कुरा टुंग्याउनका लागि यस्तो निर्णय गरिएको बताए
।
पोखरेलका अनुसार एमालेले देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्ने र असोज ९ गते पालिका स्तरका अधिवेशन गर्ने छ ।
त्यसैगरी आजको बैठकले साउन २४ गतेलाई केन्द्रीय कमिटीको बैठक बोलाएको छ भने सोमबार ३ बजे पुन स्थायी कमिटी बैठक बस्ने निर्णय गरिएको छ ।