तीन नेताका तीन कुरा सरकारलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तीन नेताका तीन कुरा सरकारलाई

काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदिप गिरीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएको छ । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा उनले यो गठबन्धन सरकार पनि असफल भए मुलुकमा व्यवस्था असफल भई कहाली लाग्दो अवस्था आउनेतर्फ सचेत गराए । “यस पटक यो सरकार असफल भयो भने शेरबहादुरजी मात्रै असफल हुनुहुन्न । यस पटक सरकार असफल भयो भने संविधान असफल हुन्छ । संविधान असफल भएर मात्रै केही हुन्न । तर व्यवस्था असफल भयो भने सोच्दा मात्रै पनि कहाली लाग्दछ ।

नेता गिरीले प्रधानमन्त्री देउवालाई आम जनताले चाहेको मन्त्रीपरिषद् बिस्तार गर्न आग्रह गरे । त्यसैगरी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री गिरिराज मणी पोखरेलले सरकार सञ्चालनका लागि संयुक्त संयन्त्र बनाएर जानुपर्ने बताए । प्रतिनिधिसभाको विशेष समयमा पोखरेलले सत्ता गठबन्धनका तर्फबाट साझा कार्यक्रम र आचारसंहिता बनाए जानुपर्ने बताएको हो ।

उनले अहिले वाम प्रजातन्त्रको एकताको माहोल बनेको बताउँदै यसलाई अझै व्यवस्थित गरेर अघि बढ्नुपर्ने बताए । यो सरकारलाई धेरै चुनौति र जिम्मेवारी रहेको बताउँदै उनले कोभिड १९ को बारेमा अन्य समसामयिक छलफलको आवश्यक्ता रहेको औँल्याए । उनले भने, “एउटा न्यूनतम कार्यक्रम, न्यूनतम साझा आचारसंहिता र सरकार सञ्चालनका लागि एउटा संयुक्त संयन्त्र निर्माण गरेर चाँडो भन्दा चाँडो अगाडी बढौँ, यतिखेर वाम प्रजातान्त्रिक एकताको महोल बनेका छ, यसलाई अझै व्यवस्थित गरौँ, २०७२ को संविधान लगत्तै हामीले अवलम्बन गर्नुपर्ने बाटो थियो, त्यसमा कतै कमीहरु भए, नयाँ परिस्थिती आएको छ, फेरि एकपटक त्यसलाई व्यवस्थित गरेर लैजानुपर्ने आवश्यक्ता छ, यो क्षेत्रमा पनि पर्याप्त बहस होस् ।

उनले नेपालमा यसवर्ष देखिएको बाढी पहिरो सामान्य किसिमको नभएको बताए । सरकारलाई पहिल्यै यसवर्ष धेरै वर्षा हुने जानकारी भएपनि कुनै पनि क्रियाकलाप प्राकृतिक प्रकोपबाट बच्ने र क्षति कम गर्ने तर्फ उन्मुख नभएको उनले बताए । उनले भएका नीति नियमको पूर्ण पालना नहुँदा पनि अत्याधिक क्षति भएको बताए ।

उनले भने, “नेपालमा यस वर्ष देखिएको बाढी पहिरो सामान्य प्रकारको पक्कै होइन, यस वर्षको मनसुनमा सामान्य वर्षा भन्दा धेरै पानी पर्छ भन्ने अनुमान सरकारी निकायले गरिसकेको थियो, तर यति विकराल भयो कि, हामी कल्पना पनि गर्न सक्दैनौँ, हाम्रा कुनै पनि क्रियाकलाप त्यसबाट बच्ने र क्षति कम गर्ने तर्फ उन्मुख थिएनन्, भएका नीति नियमको पनि पूर्ण पालना नहुँदा विपद्को क्षति अत्याधिक बढेको स्पष्ट देखिन्छ ।

उनले विकास निर्माणका कार्यहरु कम मूल्यमा बन्नुपर्ने भएकोले जोखिम भएको क्षेत्रमा बन्ने गरेको उल्लेख गरे । त्यस्तै प्रतिनिधि सभाको विशेष समयमा नेकपा एमालेका सांसद तथा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले अहिलेको शासक वर्गले उच्चस्तरीय भूमि समस्या समाधान आयोग विघटन हुने सन्त्रास दिइरहेको बताए ।

उनले ११ लाख ८० हजार ७६१ तत्काल जग्गाधनी प्रमाणपत्र दिने भनिसकेको र ७५३ स्थानीय तहमध्ये ७४३ तहमा प्रमाणपूर्जा तयार गर्न र नापीनक्शा गर्नका लागि सम्झौता गरिसकेको बेलामा उच्चस्तरीय भूमि समस्या समाधान आयोग विघटन गर्न लागेको सन्त्रास फैलिरहेको बताएको हो । उनले सयौँ प्राविधिकहरु जग्गामापीको लागि फिल्डमा खटिसकेको र २१ करोड २७ लाख रुपैयाँ खर्च भइसकेकोले यसलाई कुनै हालतमा रोक्न नमिल्ने बताए । उनले भूमिहिनले जग्गा पाउँछ भनेरै तल्लो तहका कर्मचारीलाई डर पैदा गरिरहेको बताए ।

उनले भने, “अहिलेको शासक वर्गले उच्चस्तरीय भूमि व्यवस्था समाधान आयोग विघटन हुने सन्त्रास दिइरहेको मैले सुनेको छु, ११ लाख ११ लाख ८० हजार ७६१ तत्काल जग्गाधनी प्रमाणपत्र दिने भनिसकेको र ७५३ स्थानीय तहमध्ये ७४३ तहमा प्रमाणपूर्जा तयार गर्न र नापीनक्शा गर्नका लागि सम्झौता गरिसकेको बेलामा उच्चस्तरीय भूमि समस्या समाधान आयोग विघटन गर्न लागेको सन्त्रास फैलिरहेको छ, सयौँ प्राविधिकहरु जग्गामापीको लागि फिल्डमा खटिसकेको र २१ करोड २७ लाख रुपैयाँ खर्च भइसकेको छ, यो रोक्न हुँदैन, यसको म निन्दा गर्दछु ।

अहिलेका शासक वर्गले भूमिहीन जनतालाई मालिक बनाइयो र उनीहरुले जग्गा धनी प्रमाणपूर्जा पाए भने नेकपा एमालेलाई सम्झिरहनेछन् भनेर यो आयोग विघटन गर्न त्रास पैदा गरेको उनले आरोप लगाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);