यी १५ बैंकका सिस्टम ह्याक गरिने अन्तर्राष्ट्रिय बैंक ह्याकरको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

यी १५ बैंकका सिस्टम ह्याक गरिने अन्तर्राष्ट्रिय बैंक ह्याकरको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकसहित नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिँदै ती बैंकका उच्च अधिकारीहरुलाई इमेल र फोन आएको पाइएको छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई ह्याकरले राष्ट्र बैंकसहित १५ वटा बैंकका सिस्टम ह्याक गर्ने उल्लेख गर्दै पत्र पठाएको पाइएको हो । त्यसैगरी राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलाई पनि ह्याकरले सोही इमेल गरेको पाइएको छ ।

बिहीबार बिहान भने प्रवक्ता ढकाललाई राष्ट्र बैंकसहित नेपाल र नबिल बैंकको सिस्टम ह्याक गर्ने भनी अमेरिकाबाट टेलिफोनमार्फत् धम्की आएको खुलेको छ । प्रवक्ता ढकालले भने हिजो नै सबै बैंकको सिस्टम परीक्षण गरी सम्भावित जोखिम न्यूनीकरणका लागि कदम चाल्न भनिसकेका छन् ।

ह्याकरले ह्याक हुन सक्ने चेतावनी दिएको इमेलमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, वाणिज्य बैंक, माछापुछ्रे बैंक, एनएमबी बैंक, एन आइ सी, बैंक अफ काठमाडौं, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, एसबीआई बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालय बैंक सूचीकृत रहेका छन् ।

ह्याकरले पठाएको इमेलमा यदि ठूलो घाटा हुनबाट जोगिने हो भने ४८ घण्टाका लागि बैंक सिस्टमहरु सबै बन्द गर्न समेत उल्लेख गरिएको छ । अन्यथा सम्बन्धित बैंकहरुले २४ घण्टाभित्र ठूलो क्षति भोग्नुपर्ने पनि इमेलमा उल्लेख छ ।

ह्याकरले यस चेतावनीलाई अफवाह वा ठट्टा मजाकका रुपमा नलिन समेत इमेलमा लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);