काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको नेता माधव कुमार नेपाल पक्षका नेताहरु एमाले स्थायी कमिटी बैठकस्थलमा उपस्थित भएका छन् ।
च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी स्थायी कमिटी बैठकस्थलमा नेपाल पक्षका नेता घनश्याम भुसाल, भिम रावल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट पुगेका हुन् । बैठकमा नेता नेपाल सहभागी भएका छैनन् ।
कार्यदलका नेताहरुले जारी बैठक रोक्नका लागि आएको प्रतिक्रिया दिएका छन् । यसअघि पनि उनीहरुले बैठक सार्न अनुरोध गर्दै आएका थिए ।
अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल बीचको विवाद समाधानका लागि गएको २७ गते राति कार्यदलले १० बुँदे सहमति तयार गरेको थियो । तर २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि ओली नेपालप्रति झन् रुष्ट भएका छन् ।
ओलीले बुधबार सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सरेपछि नेपाललाई एमालेमा कुनै स्थान नभएको भन्दै आक्रोश पोखेका थिए ।