काठमाडौं, ८ कात्तिक । नवनियुक्त मुख्य सचिव लोकदर्शन रेग्मीले देश र जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गरेका छन् । नवनियुक्त मुख्य सचिव रेग्मीले संवैधानिक व्यवस्था अनुसार सुशासनलाई सुदृढ र विश्वसनीय बनाउने कामलाई आफूले उच्च प्राथमिकता दिने बताए ।
बुधबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेलगत्तै उनले संचारकर्मीमाझ संविधानको प्रभावकारी कार्यान्वयनमा आफूले जोड दिने उल्लेख गरे । मुख्य सचिव रेग्मीले सरकारको उपस्थितिलाई विश्वसनीय र मजदुत बनाउन सबै सचिवहरुको सक्रीय साथ, सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे ।
मुख्य सचिव रेग्मीले राज्यले दिएको कठिन जिम्मेवारीलाई पनि निजामती कर्मचारीहरुले सफलतापूर्वक सम्पादन गर्दै आएको स्मरण गरे । पदभार ग्रहण गर्नु अघि मुख्य सचिव रेग्मीलाई नेपाल सरकारका सचिवसहित उच्चपदस्थ कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।
राजेन्द्र किशोर क्षेत्रीले उमेर हदकाकारण स्वेच्छिक अवकाश पाएपछि गृह मन्त्रालयका सचिव रेग्मीलाई सोमबार बसेको मन्त्रीपरिषद बैठकले मुख्य सचिवमा नियुक्त गरेको थियो ।