काठमाडौं । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको आजको फैसलाले मुलुक राजनीतिक अस्थीरतातर्फ गएको टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनःस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जारी परमादेशमाथि प्रतिक्रिया दिँदै भनेका छन् ‘बुझे हुन्छ–आजको फैसलाद्धारा मुलुकमा राजनीतिक अस्थीरताको दुन्दुभी बजाइयो । यसका मतियारहरुले जे सुकै पगडी लगाए पनि इतिहासको कठघरामा अभियुक्त हुनैपर्छ ।’
प्रधानन्याधीस चोलेन्द्रशमशेर राणाको नेतृत्वमा सोमबार बसेको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई बदर गरेको हो । यसका साथै इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ ।
सर्वोच्चले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो । र आजको मितिले ७ दिन भित्रमा संसद आह्वान गर्न पनि निर्देशन दिएको छ भने सांसदलाई दलीय कारबाही नगर्न पनि परमादेश जारी गरिएको छ ।