काठमाडौं, ७ कात्तिक । कांग्रेस नेता दिपकुमार उपाध्यायले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भारतको पूर्ण सहयोग, साथ र सद्भाव रहने बताएका छन् ।
भारतका लागि नेपाली राजदुतबाट राजीनामा दिएका उपाध्यायले भारतले एमाले–माओवादी केन्द्रबीचको वाम गठबन्धनलाई सहज रुपमा लिएको स्पष्ट पारे । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले चुनाव सम्पन्न गर्ने जिम्मेवारी नेपालकै भएकाले अरुमाथि शंका गरिरहन नहुने बताए ।
निर्वतमान राजदुत उपाध्यायले नेपालको निर्वाचनमा भारतले सधैं साथ दिँदै आएको पनि स्मरण गरे । नेता उपाध्यायले आफूले जनताको आग्रहमा निर्वाचनमा उम्मेदवारी दिन राजदुत पदबाट राजीनामा दिनु परेको स्पष्ट पारे ।
उनले कपिलबस्तुका जनताको आग्रह अनुसार आफ्नो ४५ वर्षे राजनीतिक यात्रालाई अव सहज रुपमा अघि बढाउने बताए । काँग्रेस नेता समेत रहेका उपाध्यायले आफूले राजदुत पदबाट दिएको राजीनामा स्विकृत गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गरे । निवर्तमान राजदुत उपाध्यायले नेपाल भारतबीचको सम्बन्धलाई सहज बनाउन आफू सफल भएको दावी गरेका छन् ।




