हालसम्मकै ठूलो परिमाणमा हस्तिहाड बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, ७ कार्तिक । अफ्रिकामा लगातार पाँचौं वर्ष हात्तीको चोरीशिकार घटिरहँदा विश्वभरीबाट गत वर्ष अहिलेसम्मकै ठूलो परिमाणमा हस्तिहाड बरामद गरिएको एउटा प्रतिवेदनले जनाएको छ। संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (साइटिस) महासन्धिको प्रतिवेदन अनुसार गत वर्ष तस्करी गर्न लागिएको ४० टन हस्तिहाड बरामद गरिएको थियो।

पछिल्लो दशकमा १ लाख १० हजार हात्तीको चोरीशिकार भएपनि अधिकांश स्थानमा तिनीहरुको संख्या स्थिर रहेको देखिएको छ। साइटिसले हात्तीहरुको संख्यासम्बन्धी खबरको स्वागत गरेको छ तर सावधानी अपनाउनुपर्ने बताएको छ।


साइटिसका महासचिव जन स्क्यानलनले भने, विश्वभर जारी सामूहिक प्रयासले सकारात्मक नतिजा देखाउन थालेको छ तर अझै हामी ठाउँमा पुगिसकेका छैनौँ। उक्त प्रतिवेदनले जनचेतना बढाउन सकेमा र कानून कार्यान्वयनमा थप कडाई गर्न सकेमा हस्तिहाडको तस्करी घटाउन सकिने जनाएको छ।

अफ्रिकी मुलुकहरुमा चुरा र अन्य आभूषणमा हस्तिहाडको प्रयोग बढ्दै गएको पृष्ठभूमिमा पछिल्लो प्रतिवेदन सार्वजनिक भएको हो। स्क्यानलनले खासगरी पूर्वी अफ्रिकाका लागि सुखद खबर भएको बताएका छन् जुन क्षेत्र पछिल्लो दशकमा हात्तीको चोरीशिकारबाट नराम्ररी प्रभावित रह्यो।

उनले भने, सन् २०११ मा चोरीशिकार उच्चविन्दुमा रहेकोमा विस्तारै चोरीशिकारको घटना कम हुँदै गएको छ र सन् २०१६ को प्रतिवेदनले समग्रमा चोरीशिकारको घटना कम हुँदै गएर सन् २००८ को अवस्थामा पुगेको छ। बोत्स्वाना, दक्षिण अफ्रिका र नामिबियामा स्थिति राम्रो देखिए पनि मध्य अफ्रिकी मुलुकहरुमा पछिल्लो दशकमा नाटकीय ढंगुमा हात्तीको संख्या घटेको प्रतिवेदन उल्लेख गरेको बीबीसीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);