काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा शुक्रबार पनि सरकारी पक्षका अधिवक्ताको बहसले निरन्तरता पाउने छ ।
शुक्रबार प्रधानमन्त्री पक्षका अधिवक्ताहरुका लागि बाँकी भएको समय १ घण्टा ३० मिनेट मा उनीहरुको बहसले निरन्तरता पाउने छ । प्रधानमन्त्री पक्षका बाँकी रहेका अधिवक्ता १३ जनाले तोकिएको समयभित्र आफ्नो बहन सकाउनु पर्ने हुन्छ ।
जसमध्ये प्रधानमन्त्रीका कानुन विज्ञ बावराम दाहालले ७ मिनेट, वरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणी अधिकारी र अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ । यसका साथै अधिवक्ता भोजराज आचार्य, सिपी रेग्मी, विष्णुमाया भुषाललगायतका अधिवक्ताले पनि आज बहस गर्दै छन् ।
यस अघि बिहीबार प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरु महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरेका थिए ।
शुक्रबार प्रधानमन्त्री तर्फका अधिवक्ताको बहस सकिएपछि सभामुख अग्नि सापकोटा तर्फका अधिवक्ताको बहस सुरु हुनेछ । सभामुख तर्फका अधिवक्तालाई बहसका लागि एक घण्टा समय दिइएको छ ।