काठमाडौं । काठमाडौंको दक्षिणकालीमा मंगलबार मृत अवस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
महानगरीय अपराध महाशाखाले बिहीबार पत्रकार सम्मेलन गरेर २९ वर्षीय सुरेश सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार सुरेश सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी घर भई हाल दक्षिणकाली नगरपालिका ७ बस्दै आएका छन् ।
प्रहरीका अनुसार गएको असार ६ गते सन्तोषीले आफूलाई बस्ने खाने व्यवस्था नभएको सुरेशलाई सुनाएकी थिइन् । सुरेशले उनलाई गाँस बासको व्यवस्था मिलाईदिने भनेका थिए । तर सुरेशले सन्तोषीलाई बलात्कारको प्रयास गरेपछि उनले प्रतिकार गर्न खोज्दा सलले घाँटी कसेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।
हत्यापछि अनुहार नचिनियोस् भनेर ढुंगाले हानेर बिगारिएको पनि प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । सन्तोषीको शव गएको मंगलबार दिउँसो करिब ३ बजेतिर दक्षिणकालीको शौचालयमा भेटिएको थियो ।
शव भेटिएपछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।
टोलीले सुरेशलाई बिहीबार कमलाक्षीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।