काठमाडौं । शेयर बजारमा मंगलबार पुनः नयाँ रेकर्ड कायम भएको छ । मंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।
मंगलबार नेप्सेले परिसूचकमा नयाँ रेकर्ड कायम हुँदा कारोबार रकम पनि करिब १७ अर्ब रुपैयाँ पुगेको छ ।
सोमबार स्थिर देखिएको शेयर बजारमा मंगलबार १ लाख ४९ हजार ७ सय ८ कारोबारबाट ३ करोड ५७ लाख कित्ता सेयर १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार रुपैयाँमा किनबेच भए ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७ दशमलव ४७ अंकले बढेको छ । नेप्सेमा कारोबार हुने अधिकांश समूहहरु बढ्दा होटल तथा पर्यटन र लघुवित्त समूहका लगानीकर्ताहरुले भने धेरै कमाउन सकेनन् ।
बजारमा उल्लास देखिदा पनि यी दुई समूहको सबइन्डेक्स भने घटेको छ । लघुवित्त समूह २४ दशमलव २१ अंकले घट्दा होटल १६ दशमलव ४६ अंकले घटेको छ । सबैभन्दा धेरै विकास बैंक ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ भने फाइनान्स समूह ८ दशमलव ७१ प्रतिशतले उकालो लागेको छ ।