सुनसान मुस्ताङ, कोभिडकै कारण होटल व्यवसाय धरासायी बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सुनसान मुस्ताङ, कोभिडकै कारण होटल व्यवसाय धरासायी बन्दै

सन्दिप शर्मा,
मुस्ताङ
। बसन्त ऋतुको यो समय हिमालपारीको जिल्ला मुस्ताङका प्रत्येक घरमा खचाखच पाहुना हुने समय हो । पर्यटन प्रर्वद्धनको लागि पनि मुख्य आधार मानिएको मुस्ताडको पर्यटन क्षेत्रलाई पछिल्लो दुईवर्ष कोरोनाले सुनसान बनाएको छ । गएको वर्ष बैशाखदेखि पुससम्म अर्थात् ९ महिना पूर्ण रुपमा बन्द भएको मुस्ताङ यसवर्ष पनि चैतदेखि फेरि बन्द भएको छ ।

मुस्ताङ उद्योग वाणिज्य संघ एवं होटल व्यवसायी संघ मुस्ताङका अध्यक्ष खगेन्द्र तुलाचनले १५ भन्दाबढी व्यवस्थित कोठा भएका २ सय ५० होटलहरु बन्द अवस्थामा रहेको बतए । प्रत्येक होटलमा सरदरमा ५ जनाका दरले रोजगार पाएको अवस्थामा अहिले मुस्ताङ जिल्लाको होटल व्यवसायमा कार्यरत १ हजार २ सय ५० जनाभन्दा धेरैले रोजगारी गुमाएको अध्यक्ष तुलाचनले बताए ।

अध्यक्ष तुलाचनका अनुसार मुस्ताङको थासाङ गाउँपालिकाको घाँसादेखि लोमान्थाङ गाउँपालिकाको छोसेरसम्म १५ भन्दा धेरै कोठा भएका २ सय ५० वटा होटलहरु सञ्चालनमा छन् । १० भन्दा कम कोठा भएका होटलहरुको संख्या पनि धेरै भए पनि उनीहरुको एकिन तथ्याङ्क निकाल्ने काम अगाडि बढीरहेको छ ।

मुस्ताङ जिल्लाभित्र कृषि तथा पर्यटन पेशा नै मुख्य हो, स्थानीय युवाहरु वैदेशिक रोजगारीमा जाने र महिला तथा पाका पुस्ताहरु भने होटल तथा कृषि एवं फलफुलको खेतीपाती गर्ने गर्दछन् । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको धार्मिक तीर्थस्थल मुक्तिनाथ र कागबेनी जस्ता क्षेत्रको कारणले गर्दा पनि पर्यटन र स्थानीय उत्पादनको बजारीकरणका लागि मुस्ताङमा सहज भएको थियो ।

मुस्ताङमा पर्यटन व्यवसायका लागि थासाङ गाउँपालिकाको कोबाङमा, घरपझोङ गाउँपालिकाको जोमसोम र लोमान्थाङ गाउँपालिकामा व्यवस्थित होटल तथा रिसोर्ट छन् भने अन्य क्षेत्रमा पनि पर्याप्त होटल रहेको हुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई खान बस्नको कहिल्यै समस्या हुँदैन । अधिकांश व्यवसायहरु आफ्नै पूर्वाधारमा सञ्चालित मुस्ताङमा करिब १०–१५ प्रतिशत होटल मात्र भाडामा रहेको होटल व्यवसायी समेत रहेका अध्यक्ष तुलाचनको भनाई छ ।

व्यवसाय डामाडोल अवस्थामा पुगेको छ तर पनि अहिलेको अवस्थामा कोभिड–१९ पूर्ण नियन्त्रणमा नआएसम्म खुलाउँदा आगामी दिनमा थप जोखिम हुन सक्नेतर्फ जिल्लावासी सजग रहेको तुलाचन बताउँछन् ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को लहरपछि मुस्ताङमा तीन सय ७६ जनामा कोरोना संक्रमण भेटिएको छ भने १३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । सोमबारसम्म १ सय ५४ जना सक्रिय संक्रमित रहेको मुस्ताङमा १ सय ८५ जनाले कोरोना जितेका छन् ।

राज्यलाई पनि कर तिरौंला र आफू पनि बाँचौंला भनेर थालेको व्यवसाय कोरोनाले गर्दा बन्द हुँदा कठिन भएको युवा व्यवसायी अमृत सुवेदीले बताए । बन्दले गर्दा व्यवसायीहरु धरासायी भएर पुरै पलायन हुने अवस्था आएको सुवेदीको धारणा छ । उनले भने –‘गतवर्ष ९ महिना घरभाडा मात्रै तिर्दा पनि मुस्किल भयो अहिलेको बन्दले उठ्नै नसक्ने गरी थला पार्ने भयो ।’ मुक्तिनाथ क्षेत्रमा व्यवसाय गर्दै आएका सुवेदीले मेरो होटल रहेकै क्षेत्रमा संक्रमणदर उच्च भएकाले अब छिटै खुल्ने सम्भावना कम रहेको बताए ।

मुस्ताङमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले गएको बैशाख ३१ गतेदेखि सुरु गरेको निषेधाज्ञा जेठ ३१ सम्म जारी छ । मुक्तिनाथ मन्दिरसहित पर्यटकीय स्थलमा हुने गतिविधिमा रोक लगाइएको र निषेधाज्ञा समेत जारी भैरहेकाले पुनः बैशाख महिनादेखि पर्यटकीय क्षेत्र मुस्ताङ सुनसान भएको छ ।

वर्षेनी ६० हजार विदेशी पर्यटक र करिब ३ लाखको हाराहारीमा आन्तरिक पर्यटकले मुस्ताङ भ्रमण गर्ने अनुमान छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको वार्षिक तथ्याङ्कअनुसार मुस्ताडमा वर्षेनी मार्चदेखि जुलाइसम्म प्रत्येक महिना ७ देखि १४ हजारसम्म विदेशी पर्यटक आउने गर्दथे । चैतेदशैंं तथा सोह्रश्राद्धमा आन्तरिक पर्यटकहरुको निकै घुइँचो हुने गर्दथ्यो ।

कोरोनाको दोस्रो भेरियन्ट आउनुभन्दा अघि पोखरा–जोमसोम हवाई सेवा नियमित लयमा फर्किएको भए पनि पुनः कोरोनाले त्यो पनि बन्द भएको छ । जोमेसोम नागरिक उड्ययन कार्यालयका प्रमुख दिपक विकले दिएको जानकारीअनुसार कोभिड–१९ को संक्रमण सुरु हुनु अघिको दुई महिनामा दैनिक ५ वटासम्म उडान हुने गरेको थियो । कहिलेकाहीँ पर्यटकको चापअनुसार १० वटा उडानसम्म भएको थियो भने भारतीय पर्यटकको समेत फ्लो बढ्दै जान थालेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);