काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाईको लागि आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अस्वस्थ भएपछि आज बस्ने भनिएको संवैधानिक इजलास नबस्ने भएको हो ।
प्रधानन्यायाधीश राणाले आज आफू अस्वस्थ भएको भन्दै सर्वोच्च अदालतलाई आज संवैधानिक इजलास नबस्ने जानकारी गराएका हुन् ।
सो जानकारी पछि सर्वोच्चले इजलासमा रहेका अन्य न्यायाधीशलाई आज इजलास नबस्ने सूचना दिइएको हो ।
आइतबार प्रधानान्यायाधीश राणाले वरियताका आधारमा संवैधानिक इजलास गठन गरी आइतबारबाट सुनुवाई सुरु गरिएको थियो ।
यसअघि सो सुनुवाईका लागि राणाले गठन गरेको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि प्रश्न उठेपछि संवैधानिक इजलास पुनर्गठन गरिएको हो । हाल संवैधानिक इजलासमा राणासहित दीपककुमार कार्की, मीरा खड्का, इश्वर खतिवडा र आनन्दमोहन खतिवडा रहेका छन् ।
अर्को संवैधानिक इजलास बुधबार बस्ने भएको छ ।