Our Network

असार ९ २०७८, बुधवार

म्याग्दीमा कोरोनाले कृषिमा आकर्षण बढ्यो (फोटो फिचर)

सन्दिप शर्मा,
म्याग्दी । कोरोना भाइरसको महामारीले म्याग्दीका युवाहरुलाई कृषि व्यवसायतर्फ आकर्षित गरेको छ । कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण सहरबाट जन्मथलो पुगेका र विदेशमा रोजगारी गुमाएर फर्किएका युवा, युवतीहरु कृषि व्यवसायमा आकर्षित भएका हुन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्षमा सञ्चालन गरेको कार्यक्रममा एक हजारभन्दा बढी कृषकहरु आवद्ध भएका छन् । जसमध्ये ८० प्रतिशत रोजगारी गुमाएर विदेश तथा सहरबाट फर्किएका युवायुवतीहरु रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सहर र विदेशबाट फर्किएकाहरुले तरकारी, आलु, सुन्तला, किबी, केरा, कागती, च्याउ लगायतका फलफूल तथा दलहन, खाद्यबालीको व्यवसायिक खेती गर्न थालेका छन् । फलफुल, जडिवुटी र तरकारीको नर्सरी पनि स्थापना गरेका छन् । व्यवसायिक कृषि व्यवसायमा आवद्ध हुनेमा उच्च शिक्षा हासिल गरेका युवाहरु समेत रहेको बेनी नगरपालिकाका कृषक गणेश चोखालले बताए ।

बाँझिएको जमिनको झाडी फाडेर खनजोत गरी खेती गर्न थालेका छन् । उत्पादन बढाउन तथा लागत घटाउन प्लास्टिक टनेल, सेमी हाइटेक टनेल, यान्त्रिक हलोको प्रयोग गरेर खेती गर्ने क्रम बढेको छ ।

कृषि ज्ञान केन्द्र र स्थानीय तहहरुले कृषि फर्म, समूह र सहकारीलाई कृषिमा आधुनिकिकरण, व्यवसायीकरण, यान्त्रिकरण गर्न यन्त्र उपकरण खरिददेखि बाँझो जमिनमा खेती गर्नेलाई समेटेर पचास देखि ८० प्रतिशत सम्म अनुदान दिएका छन् ।

आफुहरुले कृषि उपज संकलन, साना सिंचाई, बिजवृद्धी, ब्लक, कृषि यन्त्र खरिद, बाँझो जमिनमा खेती, प्राङ्गारिक खेती, साना व्यवसायिक फर्मका लागि अनुदान दिएको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले जानकारी दिए ।

म्याग्दी लगायत गण्डकी प्रदेशका ११ जिल्लाका कृषकलाइ पशु र बालीको बिमालाई निशुल्क बनाइएको छ ।

यसैगरी बाँझो जमिनमा खेती गर्ने कृषकलाई अनुदान दिने कार्यक्रम समेत प्रदेश सरकारले ल्याएको छ ।

स्थानीय स्तरमा कृषि र पशुजन्य उत्पादन बृिद्ध भएपछि आयात घट्न थालेको व्यवसायीहरुले बताएका छन् । यद्यपी कृषि उपजको उचित मूल्य नपाउने समस्या हटाउन र बजारमा बिचौलियाको प्रभाव घटाउनुपर्ने कृषकहरुले बताएका छन् ।

Leave a Reply