कार्यदल बैठक : पार्टी पंक्तिलाई अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कार्यदल बैठक : पार्टी पंक्तिलाई अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन आह्वान

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलले पार्टी पंक्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्र्तविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

मंगलबार बसेको कार्यदलको पहिलो बैठकले पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्र्तविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय गरेको कार्यदल सदस्य भीम रावलले बताए । बैठकले पार्टीमा देखिएका समस्याहरुलाई समाधान गरी एकताबद्ध बनाउन आग्रह समेत गरेको छ ।

त्यस्तै बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागु गर्ने निर्णय गरेको पनि नेता रावलले जानकारी दिए । उनले भने– ‘यो बैठकले यसको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागु गर्ने तय गरेको छ । त्यस्तै गरेर पार्टीमा देखिएका समस्याहरुलाई यथोचित रुपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकताबद्ध रुपमा अघि बढाउन कार्यदलले सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरेको छ । त्यसको सँगसँगै पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्र्तविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई हार्दिक आव्हान गर्ने पनि निर्णय गरेको छ ।’

कार्यदलका अर्का सदस्य प्रदीपकुमार ज्ञवालीले पनि बैठकले कार्यदलको कार्यविधि र आचार संहिता तयार गरी लागु गर्ने र पार्टीमा असमझदारी बढ्ने, असहयोग बढ्ने खालको गतिविधि र अभिव्यक्ति नदिन र समस्या समाधानका लागि सबैको तर्फबाट सहयोग-सद्भावका लागि अपिल गर्ने निर्णय भएको जानकारी दिए । उनले भने– ‘कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचार संहिता तयार गरेर लागु गर्ने । कार्यदलले पार्टीको समस्या समाधान गर्न काम शुरु गरिसकेको परिप्रेक्षमा सबै नेता कार्यकर्ताहरुले यसलाई सकारात्मक निष्कर्षमा पु¥याउनका निम्ति योगदान गर्ने । आपसमा असमझदारी बढ्ने, असहयोग बढ्नेखालका कुनैपनि गतिविधिहरु र अभिव्यक्तिहरु नदिने, र समस्या समाधानका निम्ति सबैको तर्फबाट सद्भाव र सहयोगका लागि अपिल-आव्हान गर्ने निर्णय गरेर आजको बैठक सकिएको छ ।’

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ ज्ञवालीले बागमती प्रदेशको राष्ट्रिय सभा सदस्यको लागि जेठ ६ गते हुने उपनिर्वाचनमा माधव नेपाल पक्षले कसलाई भोट हाल्ने भन्ने विषयमा कार्यदलमा छलफल नभएको बताए । उनले पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापालाई सबैले मतदान गर्नेमा विश्वास व्यक्त गरे ।

नेकपा(एमाले)मा माधव समुहले पार्टीलाई माओवादी केन्द्रसँगको एकता पूर्वको अवस्थाबाट सञ्चालन गर्नुपर्ने माग गर्दै आएकोमा बैशाख ३१ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध गरी लैजाने सहमति गरे अनुरुप जेठ २ गते दश सदस्यीय कार्यदल बनाइएको थियो ।

कार्यदल सदस्यहरुमा ओलीको तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा प्रदीप ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल सदस्य रहेका छन् भने माधव नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा सरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र रघुजी पन्त रहेका छन् ।

मंगलबारको बैठकमा कार्यदलका सदस्यहरु विष्णु पौडेल र शंकर पोखरेल काम विशेषका कारण अनुपस्थित भएको रावलले जानकारी दिए । कार्यदलको बैठक बुधबार पनि बस्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);