धादिङमा १५ दिन निषेधाज्ञा थपियो | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

धादिङमा १५ दिन निषेधाज्ञा थपियो

धादिङ। धादिङमा जेठ १५ सम्म निषेधाज्ञा थपिएको छ । बिहीबार बसेको जिल्ला विपत व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार स्थानीय प्रशासनले निषेधाज्ञा थपेको हो ।

गत वैशाख २१ गतेदेखि धादिङमा निषेधाज्ञा जारी भएको थियो । यस अघि जारी गरेको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । भोलि शनिबारदेखि लागु हुने गरी १५ दिनका लागि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनामा उल्लेख छ ।

निषेधाज्ञा यस अघिको भन्दा थप कडा बनाइएको छ । त्यसको उल्लंघन गर्नेलाई कानुनी कारबाही गर्ने सूचनामा उल्लेख छ ।

निषेधाज्ञामा खाद्यान्न, फलफूल, तरकारी र दुग्ध पदार्थ जस्ता अत्यावश्यक खाद्य वस्तुका पसल बिहान ६ बजेदेखि नौ बजेसम्म खोल्न पाइने छ । होटल तथा रेष्टुरेन्टले सूचना टाँसेर बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म टेकअवे सेवा दिन सक्ने छन् ।

सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र भिडभाड नगर्न आदेश दिइएको छ । अत्यावश्यक सामानको ढुवानी, एम्बुलेन्स, शव वाहन, स्वास्थ्यकर्मीले प्रयोग गर्ने सवारी साधन, सुरक्षाकर्मी बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन गुड्न पाउने छैनन् ।

विवाह व्रतबन्ध, पूजाआजा, लगायत मानिस जम्मा हुने धार्मिक तथा सामाजिक गतिविधि गर्न रोक लगाइएको छ । यस्ता कार्य गर्नु परेमा बढीमा १० जनासम्म जम्म हुनेगरी घरमै गर्नु पर्ने छ ।

बैंक तथा वित्तिय संस्थालाई सातामा दुई दिन मात्रै सेवा दिन आदेश दिइएको छ । महामारी नियन्त्रणका लागि सबैलाई जम्मेवार बन्न पनि स्थानीय प्रशासनले अपिल गरेको छ ।

धादिङमा बिहीबार मात्रै १ सय १४ जनामा संक्रमण पुष्टि भएको थियो । जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ५ सय ५३ पुगेको छ ।

जिल्लामा कोभिड–१९ बाट हालसम्म २२ जनाको ज्यान गएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ९ सय २२ रहेको छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);