दाङ। जिल्लामा अक्सिजन सिलिण्डर अभाव भइरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिकाले अक्सिजनको अभावलाई रोक्नका लागि तत्काल अक्सिजन प्लान्ट निर्माण गर्ने भएको हो ।
कोरोना संक्रमण भयावह बन्दै जान थालेपछि आपतकालिन रुपमा बुधवार बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै उपमहानगरले आइसोलेशनका लागि एक सय अक्सिजन सिलिण्डर खरिद गर्ने र पीसीआर जाँचका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको उपमहानगरका मेयर घनश्याम पाण्डेले जानकारी दिए ।
उनका अनुसार प्रत्येक वडाको स्वास्थ्य कार्यालयमा ५÷५ वटा अक्सिजन सिलिन्डर र २÷२ वटा अक्सिजन कन्स्ट्रेटरको व्यबस्थापन गर्ने समेत निर्णय भएको छ ।
त्यस्तै आइसोलेसन सञ्चालनको लागि १०२ जनाको अस्थायी दरबन्दी स्वीकृत, स्वास्थ्य सामग्री र औषधिको ब्यबस्थापन लगायत यी सबै काम गर्न ५ करोडको कोभिड बिपत प्रतिकार्य कोष स्थापना गर्ने, संघ तथा प्रदेश सरकारलाई कम्तिमा १० करोडको सहयोग गर्न अनुरोध गर्ने, एम्बुलेन्स र सब बहानको व्यबस्थापन गर्ने निर्णय गरेका मेयर पाण्डेले जानकारी दिए ।
उपमहानगरमा यहि बैशाख १ गतेदेखि २९ गते सम्म २ हजार ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ति मध्ये ८९८ जना निको भएका छन्, भने ११ जना महिला र २२ जना पुरुष गरी ३३ जनाको मृत्यु भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।
हाल उपमहानगरमा ६७० जना महिला र ८९१ जा पुरुष गरी १५६१ जना सक्रिय संक्रमितहरु रहेको उनले जानकारी दिए। पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना पुष्टि भएको छ ।