काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार गठनका लागि हस्ताक्षर नगर्ने आफ्ना सांसदलाई स्पष्टिकरण सोधेको छ ।
गण्डकी नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि माओवादी केन्द्र, जसपा र जनमोर्चा गठबन्धनको सरकार गठनका लागि हस्ताक्षर गर्न नमान्ने सांसदलाई जनमोर्चाले आज स्पष्टिकरण सोधेको हो ।
जनमोर्चाको गण्डकी प्रदेशको संसदीय दलका नेतासमेत रहेका कृष्ण थापाले विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गर्न मानेको थिएन । उनलाई कारबाही प्रक्रिया सुरु गरी स्पष्टिकरण सोधिएको बताइएको छ ।
सांसद थापाले मंगलबार बसेको जनमोर्चाको संसदीय दलको बैठकमा विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर नगर्ने बताएका थिए । जसले गर्दा गण्डकी प्रदेशमा विपक्षी दलको गठबन्धनको सरकार गठनमा अवरोध खडा भएको छ ।
गण्डकीमा सरकार गठनका लागि विपक्षी गठबन्धनसँग आज ४ बजेसम्मको समय छ ।
जनमोर्चाले सांसद थापालाई कारबाही गर्न सकेन भने ठूलो दलको हैसियतले पुन नेकपा एमालेको सरकार बन्नेछ ।