काठमाडौं । गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले नेपालको स्वास्थ्य प्रणाली नै “कोल्याब्स” भएको भन्दै स्वास्थ्य नीति परिर्वतन गर्न सुझाव दिएका छन् ।
काठमाडौं महानगरपालिकाले मंगलबार जिल्ला भित्र भएका डेडिकेटेड कोभिड अस्पतालका प्रमुख संग गरेको छलफलमा डाक्टर अधिकारीले “हेल्थ सिस्टम नै कोल्याब्स” भएको दाबी गरेका हुन् । सरकारले कोभिड उपचारका लागि तोकेका अस्पतालले संक्रमितको उपचारको जिम्मा लिन नसकेको, अस्पतालमा बेड संख्या बढाउने कार्य भाषणमा मात्रै सिमित भएको र जिम्मेबार निकायले दायित्व पुरा गर्न नसकेका कारण कोभिड संक्रमित लगायत समग्र स्वास्थ्य उपचारको स्थिति जटिल बन्दै गएको बताएका हुन् ।
डा. अधिकारीले उपचारको लागि नीति परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए । बेड बढाउने विषय नै मुख्य व्यवस्थापन रहेको भन्दै उहाँले ७० बर्ष भन्दा माथिका लाई भेन्टीलेटरमा नराख्ने भन्ने निर्णय लिनुपर्ने अवस्था आएको बताए । उनले विर अस्पताल एक बर्षसम्म किन सञ्चालन गर्न सकिएन भनी प्रश्न गरे ।
सबै अस्पतालहरुमा भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) विरामीले भरिएको अवस्था रहेकाले तत्काल अन्य कोभिडका विरामीको उपचार गर्न सक्ने अवस्था नरहेको बताए ।
डा. अधिकारीले सरकारले पनि कोभिड १९ को पहिलो लहर आउने बेलामा नै सबै सरकारी अस्पतालको उपचार क्षमता बुझेर आवश्यक कदम चाल्नुपर्नेमा त्यसो हुन नसकेपनि ढिलै भएपनि महानगरले पहल गरेकोमा धन्यवाद दिए ।
विर अस्पतालकी निमित्त निर्देशक शान्ता सापकोटाले अक्सिजनको अभावका कारण अपेक्षित ढंगले काम गर्न नसकेको बताईन् । उनले ५ सय सैयाको अस्पताल भवन हस्तान्तरण नभईसकेकाले भवन संञ्चालन भएन भनेर भन्न नमिल्ने तर्क गरिन् । भवन निर्माण भएर हस्तान्तरण भईसकेको अवस्था नरहेपनि आफुहरुले ३ सय बेडको व्यवस्था गरिसकेको उनले बताईन् ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले तोकेका डेडिकेटेड कोविड अस्पताललाई विरामीको उपचारका लागि आवश्यक पर्ने स्रोत साधनमा सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले चर्चा कमाउन नभई अस्पतालमा परेको विरामीको चाप घटाउन आइसोलेसनको भूमिका हुनुपर्ने बताए । अन्य थप संयन्त्र बनाएर भन्दा अस्पतालहरुको क्षमता बढाएर महामारी नियन्त्रण गर्न सजिलो हुने उनको भनाइ थियो ।
छलफलमा त्रि. वि. शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्ले, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारी, निजामति कर्मचारी अस्पतालका निर्देशकहरु डा. विधाननिधि पौडेल र डा. विमलकुमार थापासहितका चिकित्सक सहभागी थिए ।
सहभागीहरुले अक्सिजन व्यवस्थापनमा देखिएको कठिनाई, जनशक्तिलाई प्रोत्साहन र , व्यक्तिगत सुरक्षा सामाग्रीको पर्याप्त उपलब्धताको साथै आपतकालीन सेवाका लागि सामान खरिद गर्न खरिद सम्बन्धि प्रक्रिया लामो भएकाले सहजीकरण गर्न आग्रह गरेका थिए ।
उनीहरुले भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियु), हाइ डिपेन्डेन्सी युनिट (एचडियु) को संख्या बढाउँदै लगेको भएपनि अहिले ती सबै विरामीले भरिएको भन्दै वेडको संख्या वृद्धि संगै जनशक्तिको भार पनि थपिने भएको आर्थिक व्यवस्थापन गर्न सके महामारी विरुद्ध काम गर्न सहज हुने बताए । उनीहरु कोभिड विरामीको उपचारका लागि थप गरिने कार्यका लागि महानगरले निशर्त वा ससर्त अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
छलफलमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशाकसीय अधिकृत राजेश्वर ज्ञवाली, ‘कोविड अस्पताल व्यवस्थापन शिफारिस समिति’का संयोजक दिपक के. सी. सहित महानगरका अधिकारीहरु सहभागी थिए ।




