काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गरेकी छिन् ।
सोमबार प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी ओली विश्वासको मत पाउन नसकेर पदमुक्त भएलगत्तै राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरीएकाे हो ।
यसअघि, सोमबार अपराह्न संसदमा भएको मतदानमा विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । प्रतिनिधि सभाको विश्वास नपाएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।
प्रतिनिधिसभामा कायम रहेको २७१ सदस्यमा बहुमतका लागि १३६ जना सांसदको समर्थन चाहिन्छ । सरकार बनाउन चाहने पक्षले यही वैशाख ३० गते विहीबार साँझ ९ बजेसम्ममा सरकार बनाउने दावी पेश गर्नुपर्नेछ ।




