काठमाडौं । दोलखाको भिमसेन मन्दिर र कालिञ्चोक भगवतीका मन्दिर सर्वसाधारणका लागि बन्द गरिने भएको छ ।
कोभिड महामारीलाई ध्यानमा राख्दै मन्दिर बन्द गर्न लागिएको हो । यी दुई प्रसिद्ध मन्दिर सहित जिल्लाका सबै धार्मिक स्थल सर्वसाधारण भेला हुन नपाउने गरी बन्द गर्न लागिएको हो । मन्दिर बन्द भए पनि नित्य पूजा भने जारी रहने बताइएको छ ।
कोभिड महामारी फैलँदै गएकाले शनिबारबाट ती स्थानमा सर्वसाधारणको प्रवेशमा रोक लगाउने निर्णय जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गरेको हो ।
बैशाख ११ गते शनिबारदेखि बैशाख मसान्तसम्म दोलखा भिमसेन, कालिञ्चोक लगायतका जिल्लाका सबै धार्मिक स्थलमा नित्य पूजा बाहेक सबै गतिविधि बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको सूचनामा उल्लेख छ ।
जिल्लाका शिक्षण संस्थाहरुमा भने पूर्वनिर्धारित परीक्षास्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गरिने भएको छ । आजबाट लागू हुने गरी भीड हुने सबै खालका कार्यक्रम बन्द गरिएको छ ।
आइ.एन.ए