एजेन्सी । ईन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ ।
आइतबार राति सम्पन्न खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।
पन्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीका लागि शिखर धवनले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ३२ रन जोड्दा कप्तान ऋषव पन्तले १५ रनमा आउट भए भने मार्कुस स्टोनिस २७ रनमा अविजित रहे ।
पन्जाबका झे रिचार्डसन्ले २ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । पन्जाबका लागि ओपनरद्वय मायांक अग्रवाल र लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले ।
अग्रवालले ६९ रन जोड्दा कप्तान राहुलले ६१ रनको अर्धशतकीय इनिङ्स खेले भने दिपक होडाले अविजित २२ र शाहरुख खानले १५ रन जोडे । त्यस्तै क्रिस गेल ११ तथा निकोलस पुरन ९ रनमा आउट भए । दिल्लीका क्रिस वोक्स, लुकम्यान मेरिवाला, अभेस खान र कागिसो राबडाले १÷१ विकेट लिए ।
जितसँगै दिल्लीले ३ खेलमा ४ अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ । पन्जाब ३ खेलमा २ अंक जोड्दै लिगको सातौं स्थानमा रहेको छ । त्यस्तै आइतबार नै भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले लगातार तेस्रो जित निकालेको छ ।
चेन्नईमा भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ३९ रनले पराजित गर्दै बैंगलोरले तेस्रो जित निकालेको हो ।