एजेन्सी । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री आदित्यनाथले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टी गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् । मुख्यमन्त्री आदित्यनाथले बुधबार ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएको छ ।
उनको ट्वीटरमा सुरुवाती लक्षण देखिएपछि कोभिड परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उल्लेख छ । आफू सेल्फ आइसोलेसनमा रहेको र चिकित्सकको परामर्शलाई पूर्ण रुपमा पालन गरिरहेको तथा सबै काम ‘भर्चुअली’ सम्पादन गरिरहेको पनि आदित्यनाथले बताएको छ ।
आफूसँग पछिल्लो समय सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन र परीक्षण गर्न पनि उनको सुझाव छ । यसैबीच कोरोना संक्रमण बढ्न थालेपछि भारतमा कक्षा १० को परीक्षा रद्द भएको छ भने १२ को स्थगित गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उच्चस्तरीय समितिको बैठकपछि शिक्षा मन्त्रालयले परीक्षाको विषयमा निर्णय गरेको हो ।