यस्तो छ घोडेजात्राको पौराणिक महत्व | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०७९, बिहीबार

यस्तो छ घोडेजात्राको पौराणिक महत्व

काठमाडौं, २९ चैत । आज काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा घोडेजात्रा पर्व मनाईंदैछ । कोरोना संक्रमणको जोखिमका कारण विगत वर्षहरुमा जस्तो भव्य रुपमा आज घोडेजात्रा मनाइने छैन । कोरोनाको नयाँ प्रजाति नेपालमा भित्रिएकाले सरकारले २५जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ ।

पुरानो परम्परा र संस्कृतिलाई कायमै राख्न जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र यो वर्षको घोडेजात्रा मनाउनुपर्ने वाध्यता छ । घोडेजात्राका अवसरमा काठमाडौंको टुँडिखेलमा हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ । घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिइएको छ ।

कसरी सुरु भयो घोडेजात्रा ?
नेपालमा घोडे जात्रा मनाउने प्रचलन धेरै पुरानो हो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । यो क्रम चलिरहेपछि पीडित स्थानीयवासीले विभिन्न उपाय लगाएर त्यसलाई मारे (संहार) गरे । तर उसको प्रेतात्मा फेरि जागेर बालबालिकालाई हानी गर्नसक्ने डर स्थानीयमा रहिरह्यो । यसकारण हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको थियो ।

घोडाको टापले राक्षसलाई दबाउने यही परम्परा अहिले घोडे जात्राका रुपमा स्थापित भयो । प्राचिन मान्यता अनुरुप नै स्थानीयले कुनै पनि बालबालिकामाथि गुरुपमाको खतरा नहोस् भनी राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा दिने गर्छन् । घोडे जात्रालाई नेपाल भाषामा पाँःचह्रे पनि भन्ने गरिन्छ । पाँःचह्रे अहिले घोडेजात्रा बन्यो । घोडाको टापले कुल्चिएर राक्षसको आत्मा दबाउने चलन अहिले सैन्य कला प्रदर्शनीको एक आधार पनि बन्यो । काठमाडौंका सीमित जनताले मात्र मनाउने यो जात्राले अहिले अन्तर्राष्ट्रिय महत्व पनि पाएको छ ।

काठमाडौं उपत्यकाबाहेक नेवार समुदाय रहेका अन्य जिल्लाहरुमा पनि घोडेजात्रा पर्व मनाइन्छ । घोडेजात्रामा दिन दिउँसो नेपाली सेनाले विभिन्न कलाहरु प्रदर्शन गर्दै आइरहेको छ । नेपाली सेनाले अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्ने गर्छ । घोडेजात्राको दिन ललितपुरमा कान नसुन्ने घोडा दौडाएर घोडे जात्रा मनाउने प्रचलन समेत छ ।

आइ.एन.ए

Leave a Reply