जितागढी, जहाँ नेपालीले अङ्ग्रेजलाई हराए | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

जितागढी, जहाँ नेपालीले अङ्ग्रेजलाई हराए

राजकुमार दिक्पाल

बुटवल र स्यूराजको विषयलाई लिएर नेपाल र अङ्ग्रेजबीच सिमानामा विवाद भयो । अङ्ग्रेजले बुटवल–स्यूराज क्षेत्र नेपालले छाडिदिनुपर्ने प्रस्ताव राखेका थिए । पहिले बुटवल पाल्पा राज्यअन्तरगत पर्थ्यो । बहादुर शाहको प्रशासनकालमा पाल्पाले नेपाल राज्यको अधिपत्य स्वीकार गरेर सगुता राज्य बनेको थियो ।

रणबहादुर शाह बनारसबाट फर्केपछि भीमसेन थापासमेतको सल्लाहमा पाल्पालाई जबरजस्ती नेपालमा मिलाइएको थियो । योसङ्गै पाल्पाको तराई खण्ड नेपालमा मिलिसकेको थियो । पछि बुटवल कम्पनी सरकारमा पर्ने हो कि नेपाल राज्यतिर पर्ने हो भन्ने विषयमा कम्पनी सरकारले विवाद उठायो ।

कम्पनी सरकारका गभर्नर जनरल लर्ड मिन्टोले बुटवल र शिवराज (गढवाल राज्यअन्तरगत पर्ने स्यूराज) फर्काउन वि.सं. १८७० को बर्खामा नेपाल सरकारलाई पत्र लेखे । तर यी दुई ठाउँको हकदावी गरेर वि.सं. १८७० को हिउँदमा नेपाल सरकारले त्यसको जवाफ दियो । यसै विषयमा १८७० को अन्त्यतिर नेपाल र कम्पनी सरकारबीच सिमाविवाद समाधानका लागि अङ्ग्रेज र नेपाली अधिकारीहरुबीच बैठक हुँदा अँग्रेज अधिकारीले नेपाली अधिकारीहरुको अपमान गरेपछि नेपाली अधिकारीहरुले बैठक छाडेर हिँडे (पन्त, महेशराज, ‘पूर्णिमा’ पूर्णाङ्क २–२०२१ साउनः७५) ।

यसरी अँग्रेज र नेपालबीच यी दुई ठाउँमा सिमा विवाद भइरहेको बेला भीमसेन थापाका बाबु जनरल अमरसिंह थापा (साना) पाल्पाका प्रशासक भएर रहेका थिए ।

अङ्ग्रेजले बुटवल–स्यूराज क्षेत्र नेपालले छाडिदिनुपर्ने प्रस्तावका साथ वि.सं. १८७१ चैत १३ गते खलितापत्र पठायो । यो क्षेत्र छाड्ने वा नछाड्ने विषयमा राजा गीर्वाणयुद्ध विक्रम शाहको रोहबरमा भीमसेन थापाले भारदारी सभा गरेका थिए । त्यहाँ रङ्गनाथ पण्डित, दलभञ्जन पाँडे र रणध्वज थापाहरु युद्धविरोधी देखिए । उनीहरुले अङ्ग्रेजलाई बुटवल–स्युराज छाडिदिए आफूहरुको कल्याण हुने राय त राखे, तर भीमसेन थापाले यो राय सुन्न चाहेनन् ।

उता भीमसेन थापाका बुबा अमरसिंह थापा (साना) त्यसबेला पाल्पाका तैनाथवाला हाकिम थिए । त्यतिखेरसम्म अङ्ग्रेजले बुटवल र स्युराजमा आफ्नो ठाना राखिसकेको थिए । नेपाली सेना पहाडी क्षेत्रमै अडिइराखेको देखेर आफ्नो थोरै सेना ती ठाउँमा छाडेर अङ्ग्रेज सेना गोरखपुरतिर फर्केको थियो । त्यहीँ मौकामा बुटवलका फौजदार मनिराजले जेठ १८ गते आक्रमण गरी अङ्ग्रेज पक्षका १८ जना सुरक्षाकर्मीलाई मारिदिएका थिए (आचार्य, बाबुराम, ‘पूर्णिमा’ पूर्णाङ्क ८४–२०५० वैशाखः१५–१६) ।

नेपालले २५ दिनभित्र बुटवल र स्यूराज क्षेत्र नछाडे गोरखपुरबाट कम्पनीको पल्टन पठाएर दुवै क्षेत्र कब्जा गर्नु भन्ने आदेश गभर्नर जनरलले गोरखपुरका कम्पनी सरकारका हाकिमलाई पठाए, यसको नक्कल नेपाललाई पनि पठाए । वि.सं. १८७१ को वैशाखमा कम्पनी सरकारले वुटवल र स्यूराज कब्जा  ग-यो । त्यसपछि नेपाल सरकारले भक्तवीर थापालाई १ पल्टन र सरदार शमशेर रानालाई २ कम्पनी फौजका साथ पाल्पा पठायो । काजी रणजित कुँवर मातहतमा २ कम्पनी प्यूठान गयो (पन्त, उहीः७६) ।

आफ्नो सम्पूर्ण जीवन युद्धमैदानमा बिताएका बडाकाजी अमरसिंह थापालाई अङ्ग्रेजको बढ्दो शक्ति र प्रभावबारे पूर्ण रुपमा ज्ञान थियो । त्यसैले उनी सकेसम्म युद्ध टार्ने प्रयासमा थिए ।

आचार्य (उहीः१७–१८) अनुसार अमरसिंह थापा (साना)को पाल्पाको हाकिम हुँदा भएको बुटवलको हत्याकाण्डपछि बडाकाजी अमरसिंह थापाले आफ्नो रोवलाई थामेर अङ्ग्रेजहरुको मर्यादा राखी अक्टरलोनीमार्फत् युद्ध छेक्न अङ्ग्रेजलाई पत्र पठाएका थिए । तर युद्ध गर्ने निर्णयमा पुगिसकेका अङ्ग्रेजले उनको यो कुरालाई वास्ता गरेनन् । युद्धमा होमिनुपर्ने राजाको आज्ञा आइसकेपछि बडाकाजी अमरसिंह थापाले राजा गिर्वाणको हजुरमा पत्र लेख्दा पनि ‘…हजुरका हुकुमबमोजिम शत्रुसङ्ग लडौंला ।

इश्वरका अनुग्रहले र हजुरको प्रतापले जितौंला पनि² तर यो समय युद्ध गर्नु अनुकुल थिएन । युद्ध गर्नुपर्छ भन्ने राय दिने जो हो, महलमा बढेको अनुभवविहीन मानिस हो’ भन्ने आशय ब्यक्त गर्दै त्यो समय अङ्ग्रेजसङग युद्ध गर्नु समयप्रतिकुल भएको धारणा ब्यक्त गरेको देखिन्छ ।

आचार्यले ‘युद्ध गर्नुपर्छ भन्ने राय दिने जो हो, महलमा बढेको अनुभवविहीन मानिस हो’ भनी भीमसेन थापालाई ब्यङ्ग्य गरेको पादटिप्पणीमा उल्लेख गरेका छन् । हुन पनि तत्कालिन मुख्तियार जनरल भीमसेन थापा कुनै पनि साना वा ठूला युद्धमा सहभागी इतिहास पाइदैन ।

हुँदाहुँदै वि.सं. १८७१ कात्तिक १८ गते लखनउबाट कम्पनी सरकारका गभर्नर जनरल हेस्टिङ्सले नेपालविरुद्ध युद्धको घोषणा गरे । पूर्व मोरङदेखि पश्चिम हण्डुरसम्म दख्खल गर्ने अभिप्राय उनको थियो । त्यसबेला गोरखालीहरुले १२ हजारभन्दा बढि फौज बटुल्न सकेका थिएनन् । अङ्ग्रेजसङ्ग पाँच भागमा बाडिएको ३४ हजार सेना थियो (पन्त, महेशराज, ‘पूर्णिमा’ पूर्णाङ्क १–२०२१ वैशाखः४८)।

युद्धका लागि घरेलु कारण
अङ्ग्रेजको नेपाल खाने दाउ थियो नै । नेपालभित्र ब्यापारकोठी खोलेर आफ्नो आर्थिक सम्बन्ध चीनसम्म विस्तार गर्ने रणनीतिमा उनीहरु थिए । वि.सं. १८२४ असोजमा कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सघाउन कप्तान किनलकको नेतृत्वमा आएको सैनिक अभियान दललाई गोरखालीहरुले नराम्ररी दपेटर लखेटेको थियो । यो घाउ पनि अङ्ग्रेजले विर्सिएको थिएन ।

स्वामी महाराज रणबहादुर शाह निर्वासनबाट फर्केपछि आफ्ना मुख्य सहयोगी भीमसेन थापाको सल्लाहमा अनेक अप्रिय निर्णय गर्न अग्रसर हुन थाले । हिजो पाल्पाली राजाले आफू बनारसमा हुँदा कुनै सेवा नपु-याएकोमा उनीहरुको रोष थियो । हिजो बहादुर शाहको आत्मियता भएकोले पाल्पाली राजाप्रति उनीहरु शङ्का गर्थे ।

यसैक्रममा रणबहादुर शाह र भीमसेन थापाले एक षडयन्त्र रचे । ६ वर्षका बालक राजा गीर्वाणयुद्ध विक्रमको भाकाबाट पाल्पाली राजा पृथ्वीपाल सेनलाई ‘तपाईँकी बहिनीसङ्ग हाम्रा बुबाज्यूको विवाह सम्बन्ध स्थापित गराउनुपर्ने भयो । त्यसैले आफ्ना बहिनी साथमा लिएर तपाईँ तुरुन्त यहाँ आइदिनुहोस’ भनी लालमोहर पठाए । पृथ्वीपालले आफ्ना भाई चौतारा रणबहादुर सेनका साथ आफ्नी बहिनीलाई काठमाडौं पठाए पनि फेरि गीर्वाणयुद्धविक्रम शाहको भाकाबाट ‘चौतारा रणबहादुर सेन हाम्रा बुबाज्यूभन्दा कान्छा भएकोले उनको हातबाट कन्यादान गर्न मिलेन, त्यसैले तपाईँ स्वयम् आउनप-यो’ भनि खबर पठाइयो ।

पृथ्वीपाल सेन आउँदा बीच बाटोबाटै उनलाई पक्रिएर अनाहकमा पाटनको पुरानो राजभवनमा नजरबन्द राखियो । सैनिक पठाएर पाल्पामा आक्रमण गराई पाल्पालाई नेपालभित्र भागियो (आचार्य, बाबुराम ‘जनरल भीमसेन थापाः यिनलाई मैले जस्तो देखेँ’–२०६५ः८–१९) ।

वि.सं. १८६३ वैशाख २४ गते त्रिभुवन प्रधानको घरमा कचहरी बसिरहेको बेला आफ्नै सौतेला भाई शेरबहादुर शाहीबाट स्वामी महाराज रणबहादुर शाहको हत्या भयो । त्यसपछि भीमसेन थापाले खाँडो जगाए । रणबहादुर शाहमाथि प्रहार भएको बेला उनी खाना खान गएका थिए । हात पुछ्दै आएको बेला रणबहादुर शाह अन्तिम सास फेर्दै थिए । उनले तत्कालै तिलंगाघर घेर्न लगाए ।

चौतारिया प्राण शाह र बम शाहहरुले स्वामी महाराजको शव आर्यघाटतिर चलाए । अनि मच्चियो नरसंहार । काजी त्रिभुवन प्रधान, नरसिंह गुरुङ, चौतारिया विदुर शाह तत्कालै काटिए । उनीहरुको छोराहरुलाई पनि बाँकी राखिएन । विगत दुई वर्षदेखि नजरबन्दमा राखिएका पाल्पाली राजा पृथ्वीपाल सेन र उनका भाई रणबहादुर सेन पनि रणबहादुर शाहको हत्याको मतियार भन्ने आरोपमा भण्डारखालमा लगेर काटिए (नेपाल, ज्ञानमणि, ‘नेपालको महाभारत’–२०५२ः६२–६३) ।

यस्तो घटनापछि नेपालका आश्रित सामन्तहरुको विश्वास नेपाल सरकारप्रति घट्नु स्वाभाविक थियो । नेपाल–अङ्ग्रेज युद्धमा अङ्ग्रेजले भड्काउँदा केही सामन्त भड्किए (पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क १–२०२१ वैशाखः४९) ।

कतिसम्म भने पाल्पाका पूर्वमन्त्री कनकसिंह बानियाँ अङ्ग्रेजको सहयोगी बनेर निस्के । अङ्ग्रेजले बुटवलको जितागढीमा हमला गर्दा उनी आफ्ना छोरासहित अङ्ग्रेजको साथ लागेर युद्धस्थलमा आएका थिए ।

जितागढीको त्यो युद्ध
नेपालले वि.सं. १८७२ फागुन २४ गते सुगौली सन्धिको सर्त स्वीकार ग-यो । नेपाल सन्धिमार्फत् हुँदा बुटवलबाहेक तराईका महङ्खवपूर्ण भूभागसहित एक तिहाई क्षेत्रफल गुमाउन बाध्य हुनुप-यो । सिमित स्रोत र साधनका साथ नेपाली बीरहरुले त्यो युद्धमा केवल साहसले लडेका थिए । नेपालले अङ्ग्रेज अधिकाँश भागमा पराजीत भई आफ्नो किल्ला छाड्न बाध्य हुनुप-यो । नेपाली सेनापतिहरुले कतै आत्मासमर्पण त कतै सम्झौता गर्न बाध्य हुनुपरेको थियो ।

तर केही किल्लामा नेपाली सेनाले अङ्ग्रेज सेनालाई धुलो चटाएर पछि हटाई आफ्नो किल्लालाई सुरक्षित गर्न सफलता प्राप्त गरेका थिए । तीमध्ये जितागढी एक हो, जो त्यसबेलाको विवादित भूमी बुटवलमा पर्छ ।

भीमसेन थापाका बुबा जनरल अमरसिंह थापा (साना)को पाल्पाको प्रशासक अवस्थामै रहेको बेला वि.सं. १८७१ कात्तिक ७ गते देहान्त भयो । उनको मृत्यूको २० दिनपछि १९ वर्षको उमेरमा उनका नाती उजिरसिंह थापा काठमाडौंबाट त्यहाँको प्रशासन चलाउन काठमाडौंबाट पाल्पातिर हिँडे (पन्त, महेशराज, ‘पूर्णिमा’ पूर्णाङ्क ६ २०२२ साउनः६८)।

वि.सं. १८७१ पुसको सुरुतिर मार्लेको नेतृत्वमा अङ्ग्रेज सेना नेपालको सिमानाभित्र घुस्यो । उनीहरुले पर्सागढी, समनपुरगढी र रतुवामा कब्जा जमाए (आचार्य, बाबुराम, ‘पूर्णिमा’ पूर्णाङ्क ८४–२०५० वैशाखः२२) ।

पुस १ गते सेनापति सेनापति टी ऊड बुटवलतर्फ बढे । गजराज मिश्रले यो जानकारी पत्रबाट भीमसेन थापालाई गराए । नेपाली फौजका अधिकारी रणबीरसिंह थापा मकवानपुर पुगेको दिन अङ्ग्रेजले बारागढी दख्खल गरेका थिए । पुस २ गते मध्यरातमा बीरकेशर पाँडेले पर्सागढीमा र सर्वजीत थापाले समनपुरगढीमा एक्कासी आक्रमण गरिदिए । विहानसम्मको विहानसम्मको युद्धमा उनीहरुले शत्रुसेनालाई परास्त गरिदिए । पुस ३ गतेको यो युद्धमा नेपाली सेनाले अफिसर सहित शत्रु सेनाका १२३ जनालाई मारिदिनुका साथै तोप बन्दुकहरु कब्जामा लिएका थिए ।

नेपालीतर्फ ५९ जना परे । समनपुरमा भने नेपाली पक्षको कमै क्षति भयो । पर्साको युद्धमा बहादुरी देखाएकोले सरदार शमशेर रानाले कप्तानी पाए । पर्सा र समनपुरको अप्रत्यसित हारले भयग्रस्त भएर रतुवा र बारागढीबाट अङ्ग्रेज सेना फिर्ता भए । सेनापति मार्ले दिक्दार भई आफ्ना सेना नेपालको सिमाबाट पार गराएर बेतियातर्फ गए (आचार्य, उहीः २३) ।

अङ्ग्रेजले यतिमै हार मानेनन् । थप सैन्यबल र हतियार लिई गते सेनापति टी ऊड गोरखपुरबाट आएर सिमानामा बसी पुस २० गते बुटवलभित्र पसे । उनी जङ्गल पार गरी २२ गते खास बुटवलमा आइपुगे । नेपाली सैन्य तैनाथ रहेको महाभारतको दक्षिण फेदीमा रहेको जितागढी र नुवाकोट (तेस्रो) गढी थिए । कर्णेल उजिरसिंह थापा भने यी दुई गढीका वीचको उकालामा अनेक आडहरु बनाई नुवाकोट गढीमा शत्रुलाई पर्खेर बसेका थिए । त्यसै दिन साँझ ५ सय सैनिक लिएर मेजर केमीन जितागढी पछाडी पुगे । गढीभित्र ५ सय नेपाली सैनिक लिएर सरदार बलिभञ्जन पाँडे बसेका थिए । उनले शत्रुउपर आक्रमण गरी पछि हट्दै गढीको आडसम्म ल्याए(आचार्य, उहीः२३) ।

जब बन्दुकको आवाज आयो, तर आफ्ना मातहतका २ हजार सैनिक लिएर कर्णेल उजिरसिंह थापा झरे । त्यसै समय २१ सय सैनिक लिएर आएका जनरल ऊडले आफ्नो सेना अगाडी बढाए । नेपाल र अङ्ग्रेज सेना ५० गज जतिको आमनेसामनेमा थिए । नेपाली सेनाले शत्रु सेनामाथि गोली बर्साउन सुरु गरे । १ घण्टाको युद्धमा नेपाली सेनाले ५ जा अफिसर सहित १२८ जनालाई मारिदिए । त्यसपछि जनरल ऊड आफ्नो सेनालाई युद्धमैदानबाट फिर्ता गर्न बाध्य भए । उनले नुवाकोटगढीमा कति नेपाली सेना छन् भन्ने अड्कल काट्न सकेका थिएनन् । यता कुम्भेदान जयसुर थापासहित ७० जना नेपाली सेनाको पनि मृत्यू भयो । उनले आफ्नो सेना फिर्तीका लागि विगुल बजाउन लगाए (आचार्य, उहीः२४) ।

आचार्य (उही, पृ. २४) अनुसार यो युद्धमा अङ्ग्रेजलाई सघाउन पाल्पाका भूतपूर्व मन्त्री कनकमणि तिवारी पनि आफ्ना छोराका साथ अगुवा भएर साथ दिन आएका थिए । उनलाई जङ्गलमा भेट्टाएर नेपालीसेनाले मारिदिए ।

जितागढी, पर्सागढी र समनपुरगढीमा नेपालीहरुले पाएको सफलताले पूर्व विजयपुर इलामतिर पनि नेपाली सेनामा हौसला छायो । त्यतातिर अङ्ग्रेजहरुले आक्रमण गर्ने आँट गरिहालेनन् ।
जितागढीको युद्धमा कुम्भेदान जयसुर थापा, जमदार भीमसेन देउजा, जमदार सुरवीर बोहरा, जमदार जसिवन्त शाही, जमादार बुद्धिबल राना, रणसुर बानिया, हंशबीर अधिकारी, नकुल बानिया, जुठे बस्नेत आदिले बहादुरपूर्वक लडेका थिए । तीमध्ये जसिवन्त शाही र बुद्धिबल रानाले धेरै शत्रु सैनिक मारेका थिए (‘प्राचीन नेपाल’, सङ्ख्या २४–२०३० साउनः९–२०) ।

आफ्नो नेतृङ्खवमा भएको युद्धमा विजय हासिल गरेपछि कर्णेल उजिरसिंह थापाले आफ्नो भाकलअनुसार तानसेनको मध्यभागमा रणउजिरेश्वरी भगवतिको अष्ठधातुको मूर्ति स्थापना गरी हरेक साल कृष्णाजन्माष्टमीमा विजय उत्सव मनाउने चलन चलाएका थिए । (श्रेष्ठ, निर्मल, ‘अन्नपूर्णपोस्ट् डटक कम’–२०७४ वैशाख २३)

अङ्ग्रेजजस्तो संसारलाई कब्जा गरी शासन गर्न हिडेको साम्राज्यवादी शक्तिलाई सुगौली सन्धिअघि नेपाली फौजले धुलो चटाएको इतिहास छ, जितागढीसङ्ग । सर्वत्र हार खाएर तनावमा रहेका तत्कालिन मुख्तियार जनरल भीमसेन थापाका भतिजा कर्णेल उजिरसिंह थापाले यहीँ एउटा गढीमा युद्ध जितेर नेपाली इज्जतलाई बचाएका थिए ।

यहीँ इतिहासको साक्षी भएर बसेको छ, आजसम्म यो गढीको भग्नावशेष ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);